काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका राजनीतिक घटनाक्रम लोकतान्त्रिक व्यवस्थामाथि लक्षित प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन्।
मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले ती घटनाले केवल वामपन्थी आन्दोलनलाई मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उद्देश्य बोकेको टिप्पणी गरे।
उनले वैधानिक रूपमा गठन भएको सरकारलाई असंवैधानिक र अवैध प्रक्रियामार्फत हटाइएको आरोप लगाउँदै त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे।
ओलीले संसदीय व्यवस्थामा सरकार गठन, परिवर्तन वा पदमुक्त गर्ने अधिकार संसद्को क्षेत्राधिकारभित्र पर्ने उल्लेख गर्दै स्थापित संसदीय प्रक्रियालाई बेवास्ता गरी वैधानिक सरकार हटाइएको दाबी गरे।
सम्बोधनका क्रममा उनले लोकतान्त्रिक प्रणालीमा कानुनी र संसदीय प्रक्रियाको सम्मान अपरिहार्य रहेको उल्लेख गर्दै वैधानिक सरकारलाई विस्थापित गरी अर्को सरकार गठन गर्ने शैली लोकतान्त्रिक मान्यतासँग मेल नखाने धारणा राखे।