नेपाल सरकारका सहसचिव नरेन्द्र सन्याल आजको नेपाली कर्मचारीतन्त्रमा संघर्ष, समर्पण र सफलताको एक प्रेरणादायी उदाहरणका रूपमा स्थापित हुन। सुदूरपश्चिमको सामान्य किसान परिवारबाट आफ्नो यात्रा सुरु गरेका उनले निरन्तर मेहनत, धैर्यता र दृढ इच्छाशक्तिका बलमा निजामती सेवाको उच्च तहसम्म पुग्दै हालै सहसचिव परीक्षामार्फत महालेखापरीक्षकको कार्यालयमा नायब महालेखापरीक्षक पदमा सिफारिस हुने ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
पटक–पटक असफलता र वैकल्पिक सूचीमा पर्दासमेत निराश नभई लक्ष्यप्रति अडिग रहँदा सफलता अवश्य प्राप्त हुने उनको अनुभवले युवापुस्तालाई सकारात्मक सन्देश दिएको छ।
उनले नेपालको कर्मचारीतन्त्र, राजनीति र सुशासनबीचको सम्बन्ध, वित्तीय सङ्घीयताको व्यवहारिक अवस्था, प्रदेश सरकारका चुनौती तथा प्रशासनिक सुधारका आवश्यक पक्षबारे गम्भीर विश्लेषण प्रस्तुत गरेका छन्। सेवा प्रवाहलाई नतिजामुखी, पारदर्शी र नागरिकमैत्री बनाउन प्रशासनले जनताको वास्तविक अवस्था बुझेर काम गर्नुपर्ने उनको धारणा छ।
एक कुशल प्रशासक, सफल नेतृत्वकर्ता र लोकसेवाका हजारौँ तयारीरत विद्यार्थीका प्रेरणाका स्रोत नरेन्द्र सन्यालसँग चैतन्य खबरले गरेको यस विशेष कुराकानीमा बाल्यकालदेखि सुरु भएको संघर्षपूर्ण जीवनयात्रा, अध्ययनका उतारचढाव, लोकसेवा तयारीका अनुभव तथा सफलतासम्म पुग्दाका अनेक चुनौतीबारे विस्तृत चर्चा गरिएको छ।
१– यहाँको बाल्यकाल र त्यो सुरुवाती समयको बारेमा केही बताइदिनुस् न।
मेरो बाल्यकालको कुरा गर्दा, मेरो जन्म २०४४ सालमा भएको हो। मेरो पारिवारिक पृष्ठभूमि सामान्य थियो, बुबा र आमा दुवै सामान्य किसान हुनुहुन्थ्यो। सुदूरपश्चिमको कैलाली जिल्लाको जानकी गाउँपालिकामा हामी बस्थ्यौँ। बाबुले भारतमा अनौपचारिक रूपमा काम गरेर हाम्रो जीविकोपार्जनमा ठुलो योगदान गर्नुभएको थियो। सानो उमेरदेखि नै म अलि चञ्चले स्वभावको थिएँ, त्यसले गर्दा मेरो पढाइ र गाउँघरमा पनि घुलमिल छिट्टै भएको थियो।
२– पढाइको सुरुवात कसरी भयो ?
गाउँकै एक सामुदायिक विद्यालयमा मैले कक्षा १ देखि ५ सम्म पढेँ। त्यो बेला पढाइको अवस्था अलि कठिन नै थियो, तर मैले त्यसैलाई अवसरका रूपमा लिएँ। म ७ कक्षादखि १० कक्षासम्म सामुदायिक विद्यालयमा मेरो पढाइ जारी रह्यो। मेरो मेहेनतले गर्दा र बुबा र आमाको सकारात्मक सहयोगका कारण म राम्रोसँग पढ्न सफल भएँ। त्यसपछि अलि साइन्स पढ्ने हुटहुटी भयो। त्यो बेला साइन्सु पढ्न निकै कठिन हुन्थ्यो। परिस्थितिले साइन्स पढ्न साथ नदिए पछि मैले गणित विषय पढ्ने निधो गरे तर गणित विषय पढ्दै जाँदा पछि साथिहरुसँग घुलमिल हुँदै गएपछि उहाँहरुको कुरा सुन्दै गएपछि गणित पढ्नु भन्दा कमर्स पढ्न ठिक हुन्छ कि भन्ने मनमा लाग्यो र पछि मैले पछि विषय परिवर्तन गरेर र कमर्सको तयारीमा लागेँ।
यो मेरो जीवनको टर्निङ पोइन्ट जस्तै थियो। परिस्थितिले मलाई धेरै कुरा सिकाएको छ। म यो भन्न चाहन्छु कि मानिसले चाहेमा जे पनि गर्न सक्छ। संघर्षबाट नै मानिस अघि बढ्छ। अहिले फर्केर हेर्दा, त्यो कठिन समयले नै आज मलाई यो ठाउँमा पुर्याएको महसुस हुन्छ।
३– तपाईंको आफ्नो लोकसेवाको यात्राका बारेमा केही बताइदिनुस् न।
मेरो लोकसेवाको यात्रा निकै लामो र संघर्षपूर्ण छ। ७२ सालमा लेखापाल अधिकृतको तयारी सुरु गरेदेखि नै मैले पटक–पटक परीक्षा दिएँ। ७८ सालमा मैले तीन ठाउँमा नाम निकालेँ—लेखा र राजस्व तर्फ, साथै खुला तर्फ लेखामा। एक ठाउँमा वैकल्पिकमा परे र दुइ ठाउँमा वैकल्पिक पनि पर्न सकिन। त्यसपछि प्रशासन र लेखा दुवैतर्फ सहसचिवमा नाम निकाल्न सफल भएँ। ७९ र ८० मा भने मेरो नाम निस्किएन, तर ८१ मा पुनः तीन ठाउँमा नाम निस्कियो। अहिले म सहसचिवको रूपमा कार्यरत छु।
४– तपाईंले यति धेरै मेहेनत गर्नुभयो, केही समयमा तपाईंलाई पक्कै पनि निराश वा हतोत्साहित महसुस भएको होला, हैन ?
हो, साँच्चै भन्नुपर्दा कतिपय समयमा अलिकति निराशा महसुस हुन्थ्यो, तर मैले कहिल्यै हार मानिनँ। मेरो निरन्तरको प्रयास नै मेरो सफलताको आधार बन्यो। मलाई लाग्छ, जुन मान्छेले आफ्नो लक्ष्यप्रति समर्पित भएर निरन्तर मेहेनत गर्छ, ऊ पक्कै पनि सफल हुन्छ। मेरो यात्रा भने निकै संघर्षपूर्ण रह्यो। मैले २०७२ सालबाट लेखा अधिकृतको तयारी सुरु गरें। बीचमा विभिन्न परीक्षा दिएँ र २०७८ सालमा एकैपटक तीनवटा नतिजामा मेरो नाम निस्कियो—लेखा र राजस्व समूह, तथा लेखाको खुला तर्फ। पछि प्रशासन र लेखा दुवैतर्फ सहसचिवमा पनि नाम निकाल्न सफल भएँ। यद्यपि, २०७९ र २०८० साल मेरो लागि केही चुनौतीपूर्ण रहे, जतिबेला मेरो नाम निस्किएन।
५– लोकसेवामा नाम निकाल्ने क्रममा धेरै पटक ‘वैकल्पिक’ मा पर्ने र नतिजा नआउने जस्ता कुराहरू पनि हुन्छन्, तपाईंले यसलाई कसरी सामना गर्नुभयो ?
यो निकै कठिन समय हुन्छ। धेरै पटक लिखित परीक्षामा सफल भएर पनि वैकल्पिकमा पर्दा निराशा महसुस हुन्थ्यो। यस्तो अवस्थामा धेरै साथीहरू हतोत्साहित हुने गर्छन्। मैले धेरै पटक यस्तो भोगाइ भोगें, तर कहिल्यै हार मानिनँ। मेरो निरन्तरको प्रयास र दृढ संकल्प नै मेरो सफलताको मुख्य आधार बन्यो। मलाई लाग्छ, जुन व्यक्ति आफ्नो लक्ष्यप्रति समर्पित भएर निरन्तर मेहेनत गर्छ, ऊ पक्कै पनि सफल हुन्छ। अन्ततः २०८१ मा पुनः तीन ठाउँमा नाम निकाल्दै म अहिले सहसचिवको रूपमा कार्यरत छु।
६– तपाईंले निजामती सेवाको तयारी गर्दा कस्तो रणनीति अपनाउनुभयो रु तपाईंको अनुभव र सफलताको मन्त्र के हो ?
लोकसेवाको तयारी गर्दा मैले साना साना कुरालाई नै ध्यानमा राखेर अगाडि बढेको हुँ। सफलताको मन्त्रलाई म मुख्यतया तीन चरणमा बाँड्छु। पहिलो, चिन्नुहोस् अर्थात्, तपाईं केको तयारी गर्दै हुनुहुन्छ, त्यसको पाठ्यक्रम र विषयवस्तुलाई राम्ररी बुझ्नुहोस्। दोस्रो, महसुस गर्नुहोस्—तपाईंले पढ्ने विषयलाई आफ्नो जीवन र यथार्थसँग जोड्नुहोस्, ताकि त्यो बोझ नलागोस्। तेस्रो, प्रस्तुत गर्नुहोस्—आफूले सिकेका कुरालाई परीक्षामा कसरी उत्कृष्ट ढंगले लेख्ने, त्यसको अभ्यास गर्नुहोस्।
लोकसेवाको तयारीमा धेरैले धेरै पुस्तक पढ्ने र धेरै समय खर्चेर धेरै कुरा जान्ने प्रयास गर्छन्, तर मेरो अनुभवमा यो तरिका भन्दा स्मार्ट स्टडीु बढी प्रभावकारी हुन्छ। पहिलो चरणमा, पाठ्यक्रम राम्ररी हेर्नुहोस्। पाठ्यक्रम हेर्दा के–के पढ्ने भन्ने स्पष्ट हुन्छ, जसले गर्दा अनावश्यक विषयमा समय खेर जाँदैन। त्यसपछि पाठ्यक्रमसँग सम्बन्धित आधिकारिक र विश्वसनीय पुस्तकहरू छनोट गर्नुहोस्, तर सबै बजारका किताब किन्नु आवश्यक छैन। तेस्रो चरणमा, अध्ययन गर्दा लम्बाइु र गहिराइु दुवै कुरालाई ध्यान दिनुहोस्। जस्तै, कुनै एउटा विषय पढ्दा त्यसको सैद्धान्तिक ज्ञानका साथै हालको अवस्था, त्यसको समस्या, चुनौती र समाधानका उपायहरूको बारेमा गहिराइमा गएर सोच्नुहोस्।
यसका साथै, पढ्दा अध्ययनकर्ताुको रूपमा नभई समाधानकर्ताुको रूपमा सोच्नुहोस्। यदि तपाईं गरिबी निवारणको बारेमा पढ्दै हुनुहुन्छ भने, आफूलाई एक योजनाकार वा नीति निर्माता ठानेर त्यसको नीति, नियम र व्यवहारिक कार्यान्वयनको पक्षमा सोच्नुहोस्। आफूले पढेका कुराहरूलाई अन्य सफल उदाहरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवसँग जोडेर विश्लेषण गर्ने बानी बसाल्नुहोस्। यसरी तपाईंको तयारीमा गहिराइ आउँछ र परीक्षामा उत्तर लेख्दा तपाईंको लेखन मौलिक र विश्लेषणपूर्ण हुन्छ। थुप्रै पुस्तकहरू मात्र पढ्नु भन्दा, केही थोरै तर महत्वपूर्ण स्रोतहरूलाई धेरै पटक दोहोर्याएर पढ्नु र त्यसलाई कसरी आफ्ना शब्दमा उत्कृष्ट रूपले प्रस्तुत गर्ने भन्ने कला नै लोकसेवामा सफलताको मुख्य आधार हो।
७– तपाईंको यो सफलताको पछाडि मुख्य प्रेरणाको स्रोत के–के हुन् ?
यस यात्रामा मेरो बाबा–आमा र श्रीमतीको ठूलो भूमिका छ। उहाँहरूको निरन्तर हौसला र समर्थन नभएको भए आज यो सफलता प्राप्त गर्न निकै गाह्रो हुन्थ्यो। म उहाँहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छु। उहाँहरूको निरन्तरको हौसला र समर्थन नभएको भए आज यो सफलता प्राप्त गर्न निकै गाह्रो हुनेथियो। म उहाँहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छु।
८– तपाईँ एक सामान्य पृष्ठभूमिबाट संघर्ष गर्दै आज प्रशासनको उच्च तहमा पुग्नुभएको छ। यस अनुभवका आधारमा अहिलेको प्रशासनिक अवस्था र सुधारका लागि तपाईँको धारणा के छ ?
सार्वजनिक प्रशासन आफैँमा एउटा जिम्मेवार र उत्तरदायी संस्था हो। यसको एउटा प्रमुख भूमिका जनता र राजनीतिलाई जोड्ने एउटा सेतुको रूपमा काम गर्नु हो। जनता र राजनीतिलाई जोड्ने पुलको रूपमा काम गरिरहँदा सार्वजनिक प्रशासनले कतिपय महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ।
पहिलो कुरा, सार्वजनिक प्रशासनले जनता कुन स्तरमा वा कुन हालतमा छन् भन्ने कुरा केवल पढ्ने वा सुन्ने मात्र होइन, व्यवहारिक रूपमै बुझ्नुपर्छ। केवल किताब पढेर वा एकपटक छोटो भ्रमण गरेर प्रशासन चलाउन सकिँदैन। यो त प्रत्यक्ष अनुभव र महसुस गर्ने कुरा हो। प्रशासनमा हुनेहरू या त त्यो तल्लो स्तरको जीवनशैली भोगेको हुनुपर्छ, या त्यसलाई महसुस गर्न सक्नेगरी भुइँ तहमा गएर काम गर्ने प्रयत्न गर्नुपर्छ। हाम्रो प्रशासनको एउटा ठूलो कमजोरी भनेको माथिल्लो तहमा बस्नेहरू कहिलेकाहीँ विदेशमा बस्ने, नेपालका कुना९काप्चाको यथार्थ नबुझ्ने र १०–१५ प्रतिशत मानिस मात्र बाहिर जाने परिपाटी छ। त्यसले गर्दा सम्पूर्ण नेपालको यथार्थ बुझ्न कठिन हुन्छ।
दोस्रो महत्त्वपूर्ण पक्ष भनेको प्रशासनले जनताको यथार्थ धरातल बुझ्नुपर्छ। नेपालको यथार्थ बुझ्नुको अर्थ त्यहाँका नागरिकका समस्याहरू, उनीहरूका दीर्घकालीन लक्ष्यहरू के हुन् र तिनलाई व्यवहारमा उतार्ने आइडियाहरू के हुन् भन्ने बुझ्नु हो। हाम्रो प्रशासनको तहमा बस्नेहरूले धेरै ठूला कुरा गर्नुपर्दैन, केवल दुईवटा काम गरे पुग्छस् अहिलेको प्रशासनिक ग्याप ९खाडल० पत्ता लगाएर आफ्नो ठाउँबाट सकारात्मक योगदानु दिने र नकारात्मक प्रवृत्तिहरूलाई निरुत्साहित गर्ने। धेरै विषयवस्तुमा अल्झिनुभन्दा केही मुख्य कुराहरूमा केन्द्रित भएर काम गर्ने हो भने धेरै लक्ष्यहरू प्राप्त गर्न सकिन्छ। धेरैले के भन्छन् भने यो काम गर्न सकिँदैनू, तर यदि इमानदार प्रयास गरियो भने प्रशासनिक सुधारको लागि यो कुनै ठूलो कुरा होइन।
लोकसेवाको सफलताको कुरा गर्दा यो केवल ज्ञानको मात्र कुरा होइन, यो समर्पणु र निरन्तरताुको कुरा हो। म एउटा सह–सचिवको रूपमा जब कुनै काम गर्छु, मलाई मेरो संस्थाको दायित्व थाहा छ। त्यसले गर्दा मेरो व्यक्तिगत र संस्थागत स्तरमा जनताको सेवा कसरी गर्ने भन्ने कुरामा म दृढ छु। हामीले दुईवटा कुराको मिश्रणबाट काम गर्नुपर्छस् एउटा जनताको तह र अर्को अन्तर्राष्ट्रिय अभ्यासको स्तर। यी दुवैको अध्ययनले नै प्रशासनलाई सही बाटोमा लान सकिन्छ। धेरै जटिल प्रक्रियामा नफसी, साना तर प्रभावकारी सुधारहरू गर्दै आफ्नो ठाउँबाट सकारात्मक योगदान दिने र नकारात्मक कामहरू नगर्ने हो भने प्रशासनको गति निकै तीव्र हुन्छ। त्यसैले, मेरो लागि प्रशासन भनेको सेवा हो र यो सेवामा समर्पण र निरन्तरता नै सफलताको मुख्य कडी हो।
९– अन्त्यमा आजको प्रशासनिक व्यवस्थामा सुधारका लागि तपाईँको बुझाइ के छ ?
सार्वजनिक प्रशासनमा सुधारको कुरा गर्दा, सबैभन्दा पहिले हामीले हाम्रो कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता छ। हाम्रो प्रशासनमा एउटा ठूलो ग्यापु छ, त्यो के हो भने—नीति निर्माण गर्नेहरू र त्यसलाई कार्यान्वयन गर्नेहरू बीचको तालमेलको अभाव। हामीले सुन्दा र पढ्दा जति कुरा गर्छौं, व्यवहारमा त्यो कति लागु भएको छ भन्ने कुरा महत्त्वपूर्ण हो।
मेरो बुझाइमा प्रशासन सुधारको मुख्य आधार भनेको प्रक्रियामुखीु हुनुभन्दा नतिजामुखीु हुनु हो। अहिले पनि हामी फाइलको प्रक्रिया र ढड्डाको लफडामा नै धेरै समय बिताइरहेका हुन्छौँ। जबसम्म हामीले सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटो–छरितो बनाउन सक्दैनौँ, तबसम्म जनताले वास्तविक परिवर्तनको महसुस गर्न पाउँदैनन्। अर्को कुरा, कर्मचारीको मनोबल र दक्षताको विकास हो। कुनै पनि कर्मचारीले काम गर्दा म कसरी सेवाग्राहीलाई छिटो सेवा दिन सक्छुरुु भन्ने दृष्टिकोण राख्नुपर्छ, तर हाम्रोमा म यो काम कसरी पन्छाउन सक्छुरुु वा मैले यो काम गरेबापत के पाउँछुरुु भन्ने मानसिकता बढी देखिन्छ। यो मानसिकतालाई परिवर्तन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूको चरित्र र कार्यशैलीमा सुधार आउनुपर्छ।
साथै, पारदर्शिता र जवाफदेहिताको कुरा गर्दा, प्रशासनमा मात्र होइन, समग्रमा नै इमानदारिताुको खडेरी छ। हामीले सुधारका नाममा धेरै ठूला योजनाहरू त ल्याउँछौँ, तर ती योजनाको कार्यान्वयन गर्ने जनशक्तिमा जवाफदेहिता नहुँदा ती कागजमा मात्र सीमित हुन्छन्। त्यसैले, प्रशासनिक सुधार भनेको केवल नयाँ नियम बनाउनु होइन, बरु भएका नियमलाई कडाइका साथ र इमानदारिताका साथ कार्यान्वयन गर्नु हो। हामीले प्रणालीलाई यस्तो बनाउनुपर्छ कि जहाँ व्यक्तिगत प्रभाव वा पहुँच भन्दा नियम र प्रक्रिया सर्वोपरि होस्। जब नागरिकले कुनै पनि सरकारी कार्यालयमा जाँदा आफ्नो काम कुनै झन्झट बिना समयमै हुन्छ भन्ने कुरामा ढुक्क हुन्छन्, बल्ल त्यसलाई वास्तविक प्रशासनिक सुधार भन्न सकिन्छ। हामीले यो प्रणालीको विकासका लागि निरन्तर प्रयास गर्नु जरुरी छ।