काठमाडौँ– गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मार्फत मन्त्रालयअन्तर्गतका कर्मचारीको दरबन्दी संरचनामा ठूलो फेरबदल गरेको छ। नयाँ संरचनामा उच्च तहका सहसचिवको दरबन्दी घटाइएको छ भने उपसचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मका पद थपिएका छन्।
नयाँ ओएण्डएमअनुसार गृह मन्त्रालयअन्तर्गत कुल कर्मचारी दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्याइएको छ। यससँगै मन्त्रालयअन्तर्गत १२९ नयाँ दरबन्दी थप भएका छन्।
तर कर्मचारी संख्या बढ्दा पनि प्रथम श्रेणीका सहसचिवको दरबन्दी भने घटेको छ। यसअघि ७५ सहसचिवको दरबन्दी रहेकोमा ९ पद कटौती गरी ६६ मा सीमित गरिएको छ। सचिवको एक दरबन्दी भने यथावत् राखिएको छ।
यसको विपरीत उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, स्वास्थ्य सेवाका कर्मचारी तथा श्रेणीविहीन कर्मचारीका दरबन्दी बढाइएको छ। उपसचिवको दरबन्दी १५५ बाट १६१, शाखा अधिकृतको ५९१ बाट ६४४ र नायब सुब्बाको १ हजार ३७० बाट १ हजार ४२१ पुर्याइएको छ।
त्यस्तै खरिदारको ७१४ बाट ७१७, स्वास्थ्य सेवातर्फ १३८ बाट १४६ र श्रेणीविहीन कर्मचारीको दरबन्दी १ हजार ४३८ बाट १ हजार ४५५ पुर्याइएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत भइसकेको छ। यद्यपि यसको कार्यान्वयन भने सुरु भइसकेको छैन। मन्त्रालयका अनुसार छिट्टै नयाँ दरबन्दी संरचना कार्यान्वयनमा लगिनेछ।
![]()