काठमाडौँ– भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ। यस्तै १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ। हजारौं मानिस सम्पर्कविहीन छन्।
स्थानीय समयअनुसार बुधबार साँझ ६ः०४ बजे नेपाली समय अनुसार (बिहीबार बिहान ३ः४९ बजे) ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए।
भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ। राजधानी कराकाससहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छ। सडक यातायात पनि अवरुद्ध भएको छ। बिजुली, खानेपानी, सञ्चार जस्ता न्यूनतम सुविधाबाट पनि स्थानीय वञ्चित भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहरको पश्चिम क्षेत्रमा २२ किलोमिटर गहिराइमा गएको थियो। लगत्तै ७.५ रेक्टर स्केलको दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो।
त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै थिए। भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। लगातार दुई ठूला भूकम्प आउँदा क्षति व्यापक भएको विज्ञहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ रहेको देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसका कारण उद्धार र राहत कार्य प्रभावित भएको छ।
ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो।
अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जनाएका छन्। कतिपय भूकम्प पीडित आफैँ भग्नावशेष हटाएर आफन्तको खोजीमा जुटेका छन्। राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति निकै न्यून देखिएको स्थानीयहरूले बताएका छन्। धेरै परिवार आफन्तको खोजीमा सडकमा भौँतारिरहेका छन्।
टेलिभिजन च्यानलहरूले भग्नावशेषबाट जीवित मानिसहरूको उद्धार गरिएका दृश्य र आफन्तको छटपटाहटको हृदयविदारक दृश्य प्रसारण गरिरहेका छन्। ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो।