लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-24
  • 13:29:24
  • बुधबार,आषाढ १०, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    कानुनका स्रोत

    १. कानुनका स्रोत भन्नाले के बुझिन्छ ? उदाहरणसहित उल्लेख गर्नुहोस् । विधायनलाई कानुनको औपचारिक र मुख्य स्रोत मानिनुका कारण उल्लेख गर्दै विधायन निर्माणको आवश्यकता किन पर्दछ ? स्पष्ट पार्नुहोस् ।

    कानुन उत्पत्ति हुने आधारहरूलाई कानुनका स्रोत भनिन्छ । कानुन निसृत हुने वा कानुनले वैधता प्राप्त गर्ने आधारलाई कानुनको स्रोतका रूपमा बुझ्न सकिन्छ । कानुनका स्रोतलाई प्रत्यक्ष वा प्राथमिक र अप्रत्यक्ष वा द्वितीय स्रोतका रूपमा वर्गीकरण गर्न सकिन्छ । उदाहरणका लागि विधायनलाई कानुनको प्रत्यक्ष वा प्राथमिक स्रोतका रूपमा लिने गरिन्छ । विधायनको निर्माण व्यवस्थापिकाबाट हुने गर्दछ । विधायनको माध्यमबाट नयाँ कानुनको सिर्जना, संशोधन, खारेजी वा अन्य अधीनस्थ कानुन निर्माण गर्ने आधार प्राप्त हुन्छ । कानुनका स्रोतलाई समग्रमा देहायबमोजिम उल्लेख गर्न सकिन्छ :

    क) विधायन,

    ख) प्रथा र परम्परा,

    ग) नजिर,

    घ) अन्तर्राष्ट्रिय सन्धि सम्झौता,

    ङ) कानुनविद् वा विद्वान्का राय, लेख रचना तथा टीकाटिप्पणी,

    च) अन्तर्राष्ट्रिय अदालतका निर्णयहरू,

    छ) न्याय, नैतिकता र सद्विवेक ।

    विधायनलाई कानुनको औपचारिक र मुख्य स्रोत मानिनुका कारण :

    व्यवस्थापिका र व्यवस्थापिकाको प्रत्यायोजित अधिकार अन्तर्गत निर्मित कानुनलाई विधायन भनिन्छ । विधायन निर्माणको प्रक्रिया संविधान र कानुनद्वारा निर्देशित हुन्छ । सम्प्रभूको आदेश नै कानुन हो भन्ने भनाइले विधायनलाई कानुनको एक मात्र औपचारिक र प्रमुख स्रोतका रूपमा इङ्गित गर्दछ । विधायनलाई कानुनको औपचारिक र मुख्य स्रोत मानिनुका कारण यसप्रकार छन् :

    – औपचारिक प्रक्रियाबाट निर्माण हुने,

    – शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको व्यवस्थापिकाबाट निर्माण हुने,

    – विधायन निर्माणको आवश्यकता बोध भई औपचारिक रूपमा निर्माण प्रक्रिया अगाडि बढाइने,

    – विधायन निर्माणको सिलसिलामा विभिन्न निकायबाट अध्ययन विश्लेषण भई औपचारिक रूपमा राय प्राप्त हुने,

    – व्यापक छलफल र अन्तरक्रिया हुने,

    – सरोकारवाला र विज्ञको सहभागिता रहने,

    – प्रथा र नजिरमा रहेका गुण र दोष पहिचान गरी विधायनमार्फत सुधार गर्न सकिने,

    – स्पष्ट, सरल र अनुमानयोग्य रहने,

    – लिपिबद्ध गरी प्रकाशित गर्न सकिने ।

    विधायन निर्माणको आवश्यकता :

    देहायका कारणबाट विधायन निर्माणको आवश्यकता बोध गर्न सकिन्छ :

    – कानुनी राज्यको अवधारणा कार्यान्वयन गर्न,

    – संविधानमा उल्लिखित राज्यका नीति, दायित्व तथा मौलिक हक कार्यान्वयन गर्न,

    – सरकारका क्षेत्रगत नीति कार्यान्वयन गर्न,

    – सरकारी आश्वासन पूरा गर्न तथा संसद्बाट पारित सङ्कल्प प्रस्तावको कार्यान्वयन गर्न,

    – अदालतका फैसला तथा आदेश कार्यान्वयन गर्न,

    – संवैधानिक निकायका सुझाव कार्यान्वयन गर्न,

    – अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट सिर्जित दायित्व पूरा गर्न,

    – समाजको आवश्यकता र नागरिकका अपेक्षा सम्बोधन गर्न,

    – अन्तर्राष्ट्रियस्तरमा सफल र असल अभ्यासका रूपमा विकास भएका विषयलाई राष्ट्रिय परिवेशमा लागु गर्न,

    – तत्काल देखा परेको सङ्कटलाई उचित सम्बोधन गर्न,

    – नजिर र प्रथामा देखा परेका समस्या समाधान गर्न,

    – परिवर्तन व्यवस्थापन गर्न ।

    अन्त्यमा, कानुनको उत्पत्ति र वैधता प्राप्त गर्ने आधारलाई कानुनका स्रोतका रूपमा बुझिन्छ । संविधान र कानुनबाट निर्धारित औपचारिक प्रक्रियाद्वारा निर्माण हुने भएकाले विधायनलाई कानुनको मुख्य र औपचारिक स्रोतका रूपमा लिने गरिन्छ । कानुनी राज्यको स्थापना, संवैधानिक व्यवस्था कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण, अन्तर्राष्ट्रिय दायित्वको पालना तथा नागरिकका आवश्यकता र अपेक्षाको सम्बोधनका लागि विधायन निर्माण अपरिहार्य मानिन्छ । त्यसैले आधुनिक राज्य व्यवस्थामा विश्वका जुनसुकै कानुन प्रणालीमा पनि विधायनलाई कानुनको प्रमुख स्रोतका रूपमा लिने गरिएको छ ।

     

    २. नेपालको संविधानमा व्यवस्था भएको श्रम तथा रोजगार नीति प्रस्तुत गर्नुहोस् ।

    नेपालको संविधानको धारा ५१ -झ) मा श्रम र रोजगारसम्बन्धी नीतिको व्यवस्था गरिएको छ, जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ :

    – सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्ने,

    – देशको मुख्य आर्थिक सामाजिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने,

    – स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने,

    – मर्यादित श्रमको अवधारणा अनुरूप सबै सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने,

    – बालश्रमलगायत श्रम शोषणका सबै रूपको अन्त्य गर्ने,

    – श्रमिक र उद्यमी व्यवसायीबिच सुसम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागिता प्रोत्साहन गर्ने,

    – वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने,

    – वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सिप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने ।

    यसरी संविधानमा उल्लिखित श्रम र रोजगार नीतिले स्वदेशमा रोजगारी सिर्जना, श्रमिकको दक्षता र सामाजिक सुरक्षाको प्रत्याभूति, श्रम शोषणको अन्त्य, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेलगायतका विषयमा जोड दिएको छ । तीनै तहका सरकारले माथि उल्लिखित नीतिगत मार्गदर्शनभित्र रही श्रम र रोजगारसम्बन्धी नीति, कानुन, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनमा जोड दिनु पर्छ ।

     

    ३. विद्युत् नियमन आयोगका काम, कर्तव्य र अधिकारहरू सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् ।

    नेपालमा विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमन गर्ने नियमनकारी निकायका रूपमा विद्युत् नियमन आयोग रहेको छ । आयोगले जलविद्युत् मात्र नभई खनिज तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य जुन कुनै स्रोतबाट उत्पादन हुने विद्युत् नियमनसम्बन्धी कार्य गर्दछ ।

    विद्युत् नियमन आयोगका काम, कर्तव्य र अधिकार :

    विद्युत् नियमन आयोग ऐन, २०७४ अनुसार आयोगका काम, कर्तव्य र अधिकारहरू सङ्क्षिप्तमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :

    – विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापनसम्बन्धी विविध काम गर्ने,

    – विद्युत् महसुल निर्धारणका सर्त तथा आधार निर्धारण गरी सोका आधारमा उपभोक्ताले बुझाउनुपर्ने महसुल निर्धारण गर्ने,

    – विद्युत् खरिद बिक्रीको नियमन गर्ने,

    – विद्युत् बजारमा प्रतिस्पर्धा कायम गर्न तथा उपभोक्ताको हित संरक्षण गर्न आवश्यक व्यवस्था गर्ने,

    – विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापार गर्न आयोगबाट अनुमति प्राप्त व्यक्ति वा संस्थाको सङ्गठनात्मक क्षमता अभिवृद्धि गरी संस्थागत सुशासन कायम गराउने,

    – विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारसम्बन्धी व्यवस्थालाई भरपर्दो र प्रभावकारी बनाउन गर्नपर्ने नीतिगत सुधारका सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने,

    – अनुमति प्राप्त व्यक्तिबाट कानुन र सर्तको परिपालना भए÷नभएको विषयमा आवश्यक जाँचबुझ तथा निरीक्षण गर्ने,

    – विवाद समाधान गर्ने,

    – महसुल निर्धारण गर्नुपूर्व र आफ्ना काम कारबाहीका सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने,

    – जरिबाना गर्न सक्ने,

    – सेवा शुल्क लिन सक्ने,

    – निर्णय पुनरवलोकनसम्बन्धी निवेदनउपर आवश्यक कारबाही गर्न सक्ने,

    विद्युत् नियमन आयोगले माथि उल्लिखित काम, कर्तव्य र अधिकार क्षेत्रभित्र रही नेपालमा विद्युत्को उत्पादन, प्रसारण, वितरण र व्यापारसम्बन्धी विषयको नियमन गर्दछ ।

     

    ४. निजामती कर्मचारीलाई गरिने विभागीय सजायका प्रकारहरू उल्लेख गर्दै निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने अवस्था उल्लेख गर्नुहोस् ।

    निजामती कर्मचारीले गर्नुपर्ने कार्य नगर्दा वा नगर्नुपर्ने कार्य गर्दा सेवा सर्तसम्बन्धी कानुनले तोकेबमोजिमको विभागीय सजाय हुने गर्दछ । निजामती सेवा ऐन, २०४९ बमोजिम उचित र पर्याप्त कारण भएमा निजामती कर्मचारीलाई देहायको विभागीय सजाय गर्न सकिन्छ :

    क) सामान्य सजाय: 

    – नसिहत दिने,

    – दुई वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा दुई तलब वृद्धि रोक्का गर्ने,

    – दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलब वृद्धिसम्म रोक्का गर्ने ।

    ख) विशेष सजाय:

    – भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,

    – भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने ।

    निजामती कर्मचारीलाई देहायको कुनै अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिन्छ :

    – नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा,

    – भ्रष्टाचार गरेमा,

    – स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि आवेदन दिएमा,

    – निजामती सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा ।

    यसरी उचित र पर्याप्त आधार र कारण भएको अवस्थामा निजामती कर्मचारीलाई विभागीय सजाय गर्न सकिन्छ । विभागीय सजाय गर्दा तोकिएबमोजिमको कार्यविधिको अनिवार्य पालना गर्नुपर्छ ।

     

    ५. निर्णय निर्माण प्रक्रियाका चरणहरू उल्लेख गर्दै नेपालको सार्वजनिक प्रशासनमा निर्णय निर्माण प्रक्रियामा निर्णयकर्ताले भोग्नुपरेका समस्या प्रस्तुत गर्नुहोस् ।

    कुनै समस्या वा विषय सम्बोधन गर्ने सन्दर्भमा अधिकारप्राप्त अधिकारीले उपलब्ध विकल्पमध्येबाट उत्तम विकल्पको छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण प्रक्रिया हो । सार्वजनिक प्रशासनमा कार्यसम्पादनको सिलसिलामा सरकारका विभिन्न तह वा निकायबाट नीतिगत वा प्रशासनिक निर्णय हुने गर्दछन् ।

    निर्णय निर्माण प्रक्रियाका चरण :

    – समस्या वा विषयवस्तुको पहिचान,

    – विकल्पहरूको विकास,

    – विकल्पको विश्लेषण,

    – उत्तम विकल्पको छनोट,

    – निर्णय कार्यान्वयन,

    – निर्णय कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन ।

    सार्वजनिक प्रशासनमा निर्णयकर्ताले भोग्नु परेका समस्या :

    – कानुनी अस्पष्टता, बाझिएका कानुन र सोको भिन्न भिन्न व्याख्या,

    – तथ्यमा आधारित निर्णयका लागि विश्वसनीय र अद्यावधिक तथ्य तथ्याङ्कको अभाव,

    – भरपर्दो अभिलेख र संस्थागत सम्झनाको अभाव,

    – सीमित अध्ययन तथा अनुसन्धान,

    – निर्णय प्रक्रियामा सरोकारवालाको न्यून सहभागिता,

    – विकल्पहरू विकास गर्न समय र स्रोत साधनको अभाव,

    – निर्णयकर्तामा पर्याप्त ज्ञान, सिप, दक्षताको कमी,

    – दबाबपूर्ण कार्य वातावरण,

    – नैतिक द्विविधाको सामना,

    – निर्णयकर्ता विवेकशील हुनुपर्नेमा बढी भावनात्मक हुने जोखिम,

    – जोखिम लिन खोज्दा नियामक निकायबाट झन्झट हुने डर र त्रासको मनोविज्ञान,

    – गलत निर्णय हुन सक्ने तथा अनपेक्षित परिणाम निम्तन सक्ने चिन्ता,

    – निर्णयहरू भइरहने तर सोको कार्यान्वयन नहुने समस्या,

    अन्त्यमा, विद्यमान अवस्थाबाट इच्छित अवस्थामा पुग्न निर्णय निर्माणको महìव रहन्छ । सार्वजनिक प्रशासनमा निर्णयकर्ताले सामना गर्नु परेका समस्याको उचित सम्बोधनबाट निर्णय नै नगर्ने, गलत निर्णय गर्ने वा स्वार्थ प्रेरित निर्णय गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सकिन्छ ।

     

    ६. प्रदेश सरकारको राजस्व क्षेत्राधिकारबारे चर्चा गर्नुहोस् । 

    नेपालको संविधानले तीनै तहका सरकारका राजस्व अधिकार क्षेत्र निर्धारण गरी कानुनबमोजिम कर लगाउन र उठाउन पाउने व्यवस्था गरेको छ । प्रदेश सरकारले एकल अधिकार, साझा अधिकार र राजस्व बाँडफाँटबापत राजस्व प्राप्त गर्ने गरी देहायबमोजिमको राजस्व क्षेत्राधिकार निर्धारण गरिएको छ :

    क) एकल अधिकारका क्षेत्र

    प्रदेशको एकल अधिकार क्षेत्रभित्र सूचीकृत राजस्वका क्षेत्रहरू निम्न छन् :

    – सवारीसाधन कर,

    – घरजग्गा रजिस्ट्रेसन शुल्क,

    – विज्ञापन कर,

    – मनोरञ्जन कर,

    – कृषि आयमा कर,

    ख) साझा अधिकारका क्षेत्र:

    तीनै तहका सरकारको साझा क्षेत्राधिकार अन्तर्गत पर्ने करका क्षेत्र निम्न छन् :

    – सेवा शुल्क, दस्तुर,

    – दन्ड जरिबाना

    – प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी,

    – पर्यटन शुल्क

    ग) राजस्व बाँडफाँट भई राजस्व प्राप्त गर्ने अधिकार :

    – आन्तरिक उत्पादनको अन्त:शुल्कबापतको पन्ध्र प्रतिशत कर सात प्रदेशमा बाँडफाँट हुने,

    – मूल्य अभिवृद्धि करबापतको पन्ध्र प्रतिशत कर सात प्रदेशमा बाँडफाँट हुने,

    – स्थानीय तहले गर्ने ढुङ्गा, गिटी, बालुवा एवं माटोजन्य वस्तुको बिक्रीबाट प्राप्त राजस्वको चालिस प्रतिशत राजस्व प्राप्त गर्ने,

    अन्त्यमा, प्रदेश सरकारको राजस्व अधिकार सीमित र कर आधार साँघुरा छन् । प्रदेशको एकल अधिकार अन्तर्गत पर्ने राजस्व क्षेत्रहरू पनि स्थानीय तहको एकल अधिकारको सूचीमा समावेश छन् । कृषि आयमा लाग्ने कर मात्र प्रदेशको विशुद्ध एकल कर क्षेत्राधिकार अन्तर्गत रहेको देखिन्छ तर यसबाट प्रदेशले अपेक्षाकृत रूपमा राजस्व सङ्कलन गर्न सकेका छैनन् । प्रदेश र स्थानीय तहको दोहोरो राजस्व क्षेत्राधिकार अन्तर्गत सङ्कलन हुने राजस्व स्थानीय तहसँग बाँडफाँट गर्नुपर्ने अवस्था छ । बढी राजस्व सङ्कलन हुने स्रोतहरू सङ्घ सरकारको अधिकार क्षेत्रमा रहेकाले प्रदेश अझै पनि सङ्घीय अनुदान र राजस्व बाँडफाँटमा अत्यधिक निर्भर छन् । तिनै तहका सरकारले आपसी समन्वय र सहकार्यमा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व चुहावट नियन्त्रण गरी राजस्व असुलीमा सुधार गर्नु पर्छ ।

     

    ७. प्रदेश समन्वय परिषद्को संरचना र यसका काम, कर्तव्य तथा अधिकार उल्लेख गर्नुहोस् ।

    प्रदेश र स्थानीय तहबिच वा प्रदेशभित्रका एकभन्दा बढी जिल्लाभित्रका स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरमा रहने परिषद्लाई प्रदेश समन्वय परिषद् भनिन्छ । यस परिषद्मा प्रदेशभित्रका सबै जिल्लाबाट एक जनाका दरले गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट प्रतिनिधित्व हुने व्यवस्था छ । यस परिषद्को सचिवालय सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहने व्यवस्था छ ।

    प्रदेश समन्वय परिषद्को काम, कर्तव्य र अधिकार :

    – आफ्नो प्रदेशभित्र प्रदेश सरकार वा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना वा साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा स्थानीय तह र एकभन्दा बढी स्थानीय तहबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्ने,

    – प्रदेश समन्वय परिषद्ले समन्वय र अन्तरसम्बन्ध कायम गर्नुपर्ने कुनै विषयका लागि आवश्यकता अनुसार समिति गठन गर्न सक्ने,

    – कुनै विषयमा राष्ट्रिय समन्वय परिषद्मा छलफल हुन उपयुक्त देखिएमा प्रदेश समन्वय परिषद्ले खुलाई राष्ट्रिय समन्वय परिषद्ले परिषद्मा अनुरोध गर्न सक्ने,

    – लेखी आएको विषयमा राष्ट्रिय समन्वय परिषद्ले आवश्यक छलफल गरी प्रदेश समन्वय परिषद्, सम्बन्धित प्रदेश वा स्थानीय तहलाई मार्गदर्शन गर्न सक्ने,

    – राष्ट्रिय समन्वय परिषद्ले गरेको मार्गदर्शन सम्बन्धित प्रदेश समन्वय परिषद्, सम्बन्धित प्रदेश तथा स्थानीय तहले पालना गर्नुपर्न दायित्व रहने ।

    नेपालका सात प्रदेश अन्तर्गत प्रत्येक प्रदेशमा एक प्रदेश समन्वय परिषद् रहन्छ । प्रदेश समन्वय परिषद्ले प्रदेश र स्थानीय तहबिचको समन्वय, सहकार्य र अन्तरसम्बन्धलाई थप मजबुद गराउन भूमिका निर्वाह गर्न सक्नु पर्छ ।

    (गोरखा पत्रको बुधबारीय अंकबाट साभार गरिएको लोकसेवा सामग्री)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100