मनसुन अझै बाँकी, बाढी–पहिरोको जोखिममा उच्च सतर्कता अपनाउन आग्रह - Chaitanya News
  • 2026-08-17
  • 18:01:28
  • सोमबार,भाद्र ०१, २०८३
  • मनसुन अझै बाँकी, बाढी–पहिरोको जोखिममा उच्च सतर्कता अपनाउन आग्रह

    मनसुन अझै बाँकी, बाढी–पहिरोको जोखिममा उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ– यस वर्षको मनसुनको स्वरूप असामान्य देखिएसँगै बाँकी अवधिमा पनि भारी वर्षा र त्यसबाट निम्तिन सक्ने विपद्को जोखिम कायमै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी समयलाई जोखिम व्यवस्थापनका दृष्टिले संवेदनशील अवधिका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार अहिले समग्र वर्षाको मात्रा मात्र नभई वर्षा हुने स्थान, समय र तीव्रताले जोखिम बढाएको छ।

    प्राधिकरणमा सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उप्रेतीले यस वर्ष मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भएको बताए। त्यसैले सम्भावित जोखिमयुक्त क्षेत्रको निगरानीदेखि पूर्वसूचना र उद्धार तथा प्रतिकार्यसम्मका तयारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

    नेपालमा मनसुन प्रवेश गर्ने औपचारिक मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ हो। भदौ १ गतेसम्म करिब एक महिना १४ दिन मनसुन अवधि बाँकी रहेकाले अबको समयलाई ‘काउन्टडाउन’का रूपमा लिएर विपद् व्यवस्थापनको तयारी अघि बढाउनुपर्ने उप्रेतीको भनाइ छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा वार्षिक औसत वर्षा करिब १ हजार ४७० मिलिमिटर हुने गर्छ। भदौ १ गतेसम्म करिब ८२४ मिलिमिटर वर्षा भइसकेको छ। यो वार्षिक औसत वर्षाको करिब ५५ प्रतिशत हो।

    तर वर्षाको कुल परिमाणभन्दा यसको वितरण यस वर्ष बढी चुनौतीपूर्ण देखिएको उप्रेतीले बताए। मध्यपहाडी क्षेत्रका केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुँदा पहिरो, बाढी तथा अन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ। अर्कोतर्फ मधेश क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको अवस्था छ।

    आगामी तीन दिन पश्चिम नेपालमा भारी वर्षाको सम्भावना रहेको र तराई–मधेशमा समेत ठूलो वर्षा हुन सक्ने प्रक्षेपण रहेको उप्रेतीले जानकारी दिए। त्यसैले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र सूचना प्रणालीलाई सक्रिय राख्नुपर्ने उनको भनाइ छ।

    यस वर्षको वर्षा प्रणालीमा समुद्री सतहको तापक्रमलगायतका मौसमी अवस्थाको प्रभाव देखिएको उप्रेतीले बताए। उनले असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग समेत जोडेर हेर्न सकिने उल्लेख गरे। समुद्री सतहको तापक्रममा हुने परिवर्तनले जलवाष्पयुक्त वायु र स्थानीय वायुबीचको अन्तरक्रियामा प्रभाव पार्दा वर्षाको स्वरूपमा परिवर्तन आउन सक्ने उनले बताए।

    त्यस्तै, हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’ (आईओडी) ले पनि नेपालको वर्षा प्रणालीमा प्रभाव पार्न सक्ने उनको भनाइ छ। हाल आईओडी तटस्थ अवस्थामा रहे पनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलले आगामी दिनमा सकारात्मक अवस्थामा पुग्न सक्ने संकेत गरेका छन्।

    आईओडी सकारात्मक भए दसैँ–तिहार आसपाससमेत वर्षा हुन सक्ने सम्भावना रहने उप्रेतीले बताए। यद्यपि अहिले नै त्यसबारे निश्चित निष्कर्ष निकाल्न भने नमिल्ने उनले स्पष्ट पारे।

    विपद्सम्बन्धी सूचना प्रवाहलाई थप व्यवस्थित बनाउन प्राधिकरणले एकीकृत सूचना प्रणाली विकास गर्ने तयारीसमेत गरेको छ। विभिन्न सरकारी तथा सम्बन्धित निकायबाट प्राप्त सूचना एउटै प्रणालीमार्फत उपलब्ध गराउने गरी पूर्वसूचना र प्रतिकार्य संयन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य प्राधिकरणको छ।

    उप्रेतीले प्राविधिक अध्ययनबिना स्थानीय तहमा डोजर प्रयोग गरी जथाभावी सडक निर्माण गर्ने प्रवृत्तिले वर्षायाममा पहिरोको जोखिम थप बढाउने बताए। जोखिम न्यूनीकरणका लागि सडक निर्माणदेखि विपद् प्रतिकार्यसम्म प्राविधिक मापदण्ड र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

    मनसुनको बाँकी अवधिमा जोखिमयुक्त क्षेत्रको नियमित निगरानी, मौसम तथा विपद्सम्बन्धी पूर्वसूचनाको प्रभावकारी प्रयोग र आवश्यक उद्धार तथा प्रतिकार्य सामग्रीसहित सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ।