काठमाडौं– आज (सोमबार) बिहान भएको फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ।
इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे। खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो।
खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो। खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए।
त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए। बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो।
जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ। इरान र बेल्जियमको समान २ अंक छ। न्यूजिल्यान्डको एक अंक छ।