दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको नकआउट चरणमा - Chaitanya News
  • 2026-06-19
  • 11:09:26
  • शुक्रबार,आषाढ ०५, २०८३
  • दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको नकआउट चरणमा

    दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको नकआउट चरणमा

    काठमाडौं– सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

    शुक्रबार बिहान ग्वाडलाजारास्थित स्टेडियममा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरिया लाई १–० ले पराजित गर्दै एक खेल बाँकी छँदै अन्तिम–३२ मा स्थान सुरक्षित गरेको हो।

    मेक्सिकोको जितमा लुइस रोमोले ५०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। दक्षिण कोरियाली गोलरक्षक किम सुङ–ग्युको गल्तीपछि प्राप्त अवसरलाई रोमोले सदुपयोग गरेका थिए।

    खेलभर बल नियन्त्रणमा दक्षिण कोरिया केही हदसम्म अगाडि देखिए पनि गोल गर्न असफल रह्यो। अन्तिम समयमा प्राप्त अवसरहरूलाई पनि उसले सदुपयोग गर्न सकेन।

    दुई खेलबाट ६ अंक जोडेको मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ। पहिलो खेलमा उसले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो।

    दक्षिण कोरियाको भने दुई खेलबाट ३ अंक रहेको छ र उसको नकआउट चरण पुग्ने सम्भावना अझै कायम छ। समूहमा चेक गणतन्त्र र दक्षिण अफ्रिकाको समान १–१ अंक छ।

    यस विश्वकपमा ४८ टोली सहभागी छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीले अन्तिम–३२ मा स्थान बनाउने व्यवस्था रहेको छ।