प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद हुन्छ,उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई - Chaitanya News
  • 2026-08-03
  • 19:08:12
  • सोमबार,साउन १८, २०८३
  • प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद हुन्छ,उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई

    प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद हुन्छ,उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई

    काठमाडौं– नेपाली कांग्रेसका सचेतक निष्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन्।

    आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरे। सो क्रममा उनले इलाममा चिया उद्योगमा विगत तीन दिनदेखि लागेको तालाको विषय जानकारी गराए।

    ‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रिमा ताला झुन्ड्याएको करिब ३ दिन भयो। भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ,’ राईले भने, ‘उनीहरूको मापदण्डभित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ। जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन्। तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। यो योसँग सातौं पटक भयो।’

    यही विषय राख्दैगर्दा उनले प्रधानमन्त्री बालेनले अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै गरेको कटाक्ष प्रस्तुत गरे।

    र, उनले भनेका छन्, ‘हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो। तर वार्षिक ३ करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन।’

    गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएको थियो।

    सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँदा इलामका चिया उद्योग बन्द हुँदा त्यहाँ आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले उक्त समस्या समाधानका लागि पहल गरेको गुनासो गरे।

    सचेतक राईले भारतसँग तत्काल सम्वाद गरी उक्त समस्या समाधान गर्न पनि सरकारलाई दबाब दिए।

    ‘चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र त्यसका काम गर्ने श्रमिकहरूको रोजगारी गएको छ । उद्योगले बैकबाट लिएको लोनको ब्याज तिर्न सक्ने अवस्था छैन। बालबालिकाका शिक्षा, त्यहाँका मानिसहरूको रोजीरोटी त्यहीमा आश्रित छ। तर सरकार गम्भिर हुन सकिरहेको छैन,’ उनले भनेका छन्।

    सचेतक राईले चियाको गुणस्तर मापन सम्बन्धि ल्यावको आवश्यक व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षंण पनि गराए।