काठमाडौँ– नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एक अर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन्।
चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिलामन्त्री वाङ यीसँग आज बेइजिङमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको हो।
उक्त अवसरमा दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल–चीन सम्बन्धका समग्र आयामबारे सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनस्व्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट गरेको थियो।
त्यस्तै, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता पुनस्दोहोर्याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको थियो।
मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, दुवै पक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा जोड दिएका नेपाली दूतावास, बेइजिङले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वार्तापश्चात् मन्त्री खनालले विदेशमन्त्री वाङले उहाँको सम्मानमा आयोजना गरेको रात्रि भोजमा सहभागिता जनाएका थिए। यसअघि आजै परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए। भेटमा पार्टी पार्टी आदानप्रदानसहित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा विचार आदानप्रदान भएको थियो।
आजै मन्त्री खनालले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चको भ्रमण गरेका थिए। उनले उक्त संस्थानका गतिविधिहरू, विशेषगरी त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी लिएका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले विज्ञान तथा प्रविधिका क्षेत्रमा दुई पक्षबीचको सहकार्यलाई अझ गहिरो बनाउने आवश्यकतामा जोड दिएका थिए। उनी चीनका विदेश मामिलामन्त्री वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए।