जनकपुरधाम– मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन्।
त्यस्तै अन्य कार्यसम्पादनको आधारमा समेत १० प्रतिशत प्रोत्साहन भत्ता दिने उनले बताए।
त्यस्तै सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने जनाएको छ। अर्थमन्त्रीले मधेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति सहितको व्यवस्था गर्दै सुशासन कायम गर्ने बताए। त्यसका लागि ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सन्चालनमा ल्याउने अर्थमन्त्री भट्टराईले बताए।
यसैगरी १८ देखि ३५ वर्षका युवाहरुलाई लक्षित गरी सयदिने रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउन लागेको जानकारी पनि उनले दिए।
प्रदेश प्रहरी भर्नाका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी उनले गराए।
मधेश प्रदेश सरकारले विगतमा निकै लोकप्रिय बनेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ भने परिमार्जन गरेको छ।