१ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात छ : कृषिमन्त्री चौधरी - Chaitanya News
  • 2026-06-11
  • 17:46:31
  • बिहिबार,जेठ २८, २०८३
  • १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात छ : कृषिमन्त्री चौधरी

    १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात छ : कृषिमन्त्री चौधरी

    काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ।

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गीता चौधरीले यस्तो दाबी गरेकी हुन्।

    उनकाअनुसार ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको छ।

    उनले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताइन्।

    मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिव ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिमाण भएको दाबी गरिन्।

    उनले आगामी धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताइन्। यसको फलस्वरूप असारदेखि साउनसम्म करिब ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि उनले सुनाइन्।