सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्म विस्तार, आयोगले जाँच प्रक्रिया पनि सुरु गर्ने तयारी - Chaitanya News
  • 2026-06-10
  • 15:17:04
  • बुधबार,जेठ २७, २०८३
  • सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्म विस्तार, आयोगले जाँच प्रक्रिया पनि सुरु गर्ने तयारी

    सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्म विस्तार, आयोगले जाँच प्रक्रिया पनि सुरु गर्ने तयारी

    काठमाडौँ– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्मका लागि थप गरेको छ। तोकिएको समयमा विवरण संकलन अपेक्षाकृत न्यून भएपछि तथा सम्बन्धित व्यक्तिहरूको अनुरोधका आधारमा म्याद विस्तार गरिएको आयोगले जनाएको छ।

    आयोगका अनुसार विदेशमा कार्यरत तथा आवश्यक कागजात संकलनमा कठिनाइ भएको गुनासो आउने क्रमपछि समय थप गर्ने निर्णय गरिएको हो।

    यसअघि जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको थियो। प्रारम्भिक सूचनाअनुसार जेठ मसान्तभित्र विवरण बुझाइसक्नुपर्ने व्यवस्था थियो।

    तर अन्तिम म्याद सकिन केही दिन मात्र बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्र विवरण बुझाएको आयोगले जनाएको छ। सोही अवस्थालाई ध्यानमा राख्दै पुनः एकटकका लागि समय सीमा विस्तार गरिएको हो।

    आयोगले हालसम्म प्राप्त विवरणहरूको प्रारम्भिक जाँच तथा विश्लेषण प्रक्रिया समेत सुरु गर्ने तयारी गरेको जनाएको छ। आयोगका अनुसार अन्तिम अवसरका रूपमा दिइएको यो म्यादपछि थप समय नदिइने संकेत गरिएको छ।