लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-10
  • 14:24:42
  • बुधबार,जेठ २७, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    अर्थ विधेयक प्रस्तुत र पारित गर्ने विधि

    १.  अर्थ विधेयक भनेको के हो ? नेपालको संविधानमा अर्थ विधेयकलाई कसरी परिभाषित गरिएको छ ?  उल्लेख गर्दै सङ्घीय संसद्मा अर्थ विधेयक प्रस्तुत गर्ने र पारित गर्ने विधि उल्लेख गर्नुहोस् । 

    सरकारी आम्दानी, विनियोजन, खर्च, कोष संरक्षण, ऋण, जमानत, दायित्व, लगानी, लेखा वा लेखा परीक्षण जस्ता विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने विधेयकलाई अर्थ विधेयक भनिन्छ । मूलतः अर्थ विधेयकले बजेट तर्जुमा, कार्यान्वयन, परीक्षण तथा आर्थिक अनुशासन कायम राख्ने कुरासँग सम्बन्ध राख्दछ । सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विधेयकहरु अर्थ विधेयकका रूपमा संसद्मा प्रस्तुत गरिन्छन् । नेपालको संविधानको धारा ११०(३) र १९८(३) मा सङ्घीय संसद् र प्रदेश सभामा पेस हुने अर्थ विधेयकका सम्बन्धमा प्रस्टसँग उल्लेख गरिएको छ । कुनै विधेयक अर्थ विधेयक हो होइन भन्ने प्रश्न उठेमा सङ्घीय विधेयकको हकमा सभामुख र प्रदेश सभामा पेस हुने विधेयकको हकमा प्रदेश सभाको सभामुखको निर्णय अन्तिम मानिन्छ । अर्थ विधेयकले देहायमा उल्लिखित सबै वा कुनै विषयसँग सम्बन्ध राख्ने विधेयकलाई जनाउँदछ ।

    क)  करसम्बन्धी विषय

    – कर  लगाउने, उठाउने, खारेज गर्ने, छुट दिने, परिवर्तन गर्ने वा कर प्रणालीलाई व्यवस्थित गर्ने विषय,

    ख)  कोष संरक्षण र विनियोजनसम्बन्धी विषय

    – सङ्घीय सञ्चित कोष वा अन्य कुनै सङ्घीय सरकारी कोषको संरक्षण गर्ने,

    – त्यस्तो कोषमा रकम जम्मा गर्ने वा

    – त्यस्तो कोषबाट कुनै रकम विनियोजन गर्ने वा खर्च गर्ने वा

    – विनियोजन वा खर्च गर्न खोजिएको रकम घटाउने, बढाउने वा खारेज गर्ने विषय,

    ग)  वित्तीय व्यवस्थासम्बन्धी विषय

    –  नेपाल सरकारले ऋण प्राप्त गर्ने वा जमानत दिने विषय व्यवस्थित गर्ने वा

    – नेपाल सरकारले लिएको वा लिने आर्थिक दायित्वसम्बन्धी कानुन संशोधन गर्ने,

    घ)  लेखाङ्कन तथा लेखा परीक्षणसम्बन्धी विषय 

    – सङ्घीय सरकारी कोषमा प्राप्त हुने सबै प्रकारको राजस्व, ऋण असुलीबाट प्राप्त रकम र अनुदानको रकम जिम्मा राख्ने, लगानी गर्ने वा

    – नेपाल सरकारको लेखा वा लेखा परीक्षण गर्ने,

    ङ)  माथि उल्लिखित विषयसँग प्रत्यक्ष सम्बन्ध भएका अन्य प्रासाङ्गिक विषय ।

    सङ्घीय अर्थ विधेयक प्रस्तुत गर्ने र पारित गर्ने विधि 

    – अर्थ विधेयकलाई सरकारी विधेयकका रूपमा मात्र प्रस्तुत गरिन्छ र यो प्रतिनिधि सभामा मात्र पेस गरिन्छ,

    – प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयक राष्ट्रिय सभामा पठाइन्छ, यसरी पठाउँदा विधेयकको पहिलो पानामा सभामुखले अर्थ विधेयक भनी प्रमाणित गरेको हुनु पर्छ,

    – राष्ट्रिय सभाले सो विधेयकमा छलफल गरी विधेयक प्राप्त गरेको १५ दिनभित्र कुनै सुझाव भए सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाउनु पर्छ,

    – सुझावसहित फिर्ता आएको विधेयकमा प्रतिनिधि सभाले छलफल गरी उचित देखेको सुझाव समावेश गरी सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिन्छ,

    – तर अर्थ विधेयक प्राप्त गरेको १५ दिनसम्ममा राष्ट्रिय सभाले सो विधेयक फिर्ता नगरेमा सभामुखले सो कुरा प्रतिनिधि सभालाई जानकारी दिई सभामुखबाट विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिन्छ,

    – प्रतिनिधि सभाबाट पारित भएको अर्थ विधेयक राष्ट्रपतिसमक्ष प्रणाणीकरणका लागि पेस गर्नुपूर्व सभामुखले सो विधेयक अर्थ विधेयक हो भन्ने बेहोरासमेत प्रमाणित गरेको हुनु पर्छ,

    – राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्दछ । अर्थ विधेयक अन्य विधेयक जस्तो राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता गर्न सकिने अवस्था रहँदैन ।

    – अन्त्यमा, सार्वजनिक वित्त व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विशेष प्रकृतिको विधेयकलाई अर्थ विधेयक भनिन्छ । यसले मुलुकको कर व्यवस्था, सरकारी कोषको संरक्षण तथा विनियोजन, ऋण तथा वित्तीय दायित्व, लेखाङ्कन र लेखा परीक्षणलगायतका विषयलाई समेट्छ । नेपालको संविधानले अर्थ विधेयकको परिभाषा र संसदीय प्रक्रियाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । सङ्घीय अर्थ विधेयक प्रतिनिधि सभामा मात्र पेस गरिन्छ । यो विधेयक प्रस्तुत गर्ने एवं सभाबाट पारित गर्ने विषयमा प्रतिनिधि सभाको भूमिका प्रधान रहने र राष्ट्रिय सभाको भूमिका सुझावमूलक मात्र रहने संवैधानिक मनसाय रहेको छ । अर्थ विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपतिको भूमिकालाई समेत सीमित गरिनुले अर्थ विधेयकको विशिष्टता र महìव बुझ्न सकिन्छ ।

     

    २.  कार्यविवरण भनेको के हो ? यसको महत्व उल्लेख गर्दै निजामती कर्मचारीको कार्यविवरण सम्बन्धमा प्रचलित कानुनमा भएका मुख्य विषय प्रस्तुत गर्नुहोस् ।

    कुनै निश्चित पदले सम्पादन गर्नुपर्ने काम, प्रयोग गर्न सक्ने अधिकार, निर्वाह गर्नुपर्ने कर्तव्य, जिम्मेवारी र उत्तरदायित्वका सम्बन्धमा स्पष्ट रूपमा किटान गरी कर्मचारीलाई प्रदान गरिने विवरणपत्रलाई कार्यविवरण भनिन्छ । यो कर्मचारीको जिम्मेवारी र जवाफदेहिता स्पष्ट पार्ने व्यवस्थापकीय औजार पनि हो । यसले कर्मचारीको कार्यसम्पादन मापनको आधार प्रदान गर्नुका साथै कार्यसम्पादन व्यवस्थापन प्रणालीलाई सुदृढ गर्न सहयोग गर्छ । कर्मचारी कार्यविवरणले कर्मचारी र सङ्गठन दुवैको कार्यसम्पादनलाई स्पष्ट मार्गदर्शन गरी सङ्गठनको घोषित उद्देश्य हासिल गर्न सहयोग गर्छ ।

    कार्यविवरणको महत्व

    क)  व्यक्तिगत तहमा

    – कर्मचारीको जिम्मेवारी र भूमिका स्पष्ट हुन्छ,

    – आफ्नो प्रगति मापन र स्वमूल्याङ्कनमा सहयोग गर्छ,

    – अधिकारको सीमा र उत्तरदायित्व स्पष्ट भई कार्यसम्पादन सहज हुन्छ,

    – सङ्गठनात्मक विवाद न्यूनीकरण भई असल कार्यसम्बन्ध स्थापित हुन्छ,

    – कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति केन्द्रित गरी भूमिकालाई प्रभावकारी बनाउन सहयोग गर्छ,

    ख) सङ्गठनात्मक तहमा

    – जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउँछ,

    – सङ्गठनको कार्यसम्पादन व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउँछ,

    – कार्यसम्पादन मूल्याङ्कनलाई वस्तुनिष्ठ बनाउन सहयोग गर्छ,

    – सञ्चार र समन्वयलाई प्रभावकारी बनाउँछ,

    – सङ्गठन संरचनालाई स्पष्ट बनाउँछ,

    – कर्मचारीको भूमिका स्पष्ट बनाई निर्णय प्रक्रियालाई सरल र पारदर्शी बनाउँछ,

    – काममा स्पष्टताले दोहोरपना हटाउनुका साथै कार्यदक्षता र उत्पादकत्व बढाउन सहयोग गर्छ,

    – कर्मचारीलाई कार्यसम्पादन नतिजाप्रति जिम्मेवार र जवाफदेही बनाउन सहयोग गर्छ,

    – निजामती कर्मचारीको कार्यविवरण सम्बन्धमा प्रचलित कानुनमा भएको प्रमुख विषयहरू :

    क) निजामती सेवा ऐन, २०४९ को व्यवस्था 

    – सरकारले स्वीकृत गरेको सङ्गठनको कार्यविवरणका आधारमा सम्बन्धित सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखले प्रत्येक निजामती पदको कार्यविवरण तयार गरी लागु गर्नुपर्ने,

    – कर्मचारीको पदस्थापनपत्रसँगै यस्तो कार्यविवरण र कार्यविवरण अनुसारको कामको मूल्याङ्कन गर्ने सूचकाङ्कसमेत उपलब्ध गराउनुपर्ने छ,

    ख)  निजामती सेवा नियमावली, २०५० को व्यवस्था 

    – तोकिएको ढाँचाको कार्यविवरण सम्बन्धित सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखले लागु गरी त्यसको एकप्रति सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने,

    – तोकिएका पदको कार्यविवरण तोकिएका पदाधिकारीले स्वीकृत गर्ने । जस्तै : मुख्य सचिवको नेपाल सरकारले; सचिव वा सोसरहको पदको मुख्य सचिवले; जिल्ला वा इलाकास्तरका कार्यालयका राजपत्र अनङ्कित वा श्रेणीविहीन पदको कार्यविवरण कार्यालय प्रमुखले स्वीकृत गर्ने,

    – कार्यविवरणमा मूल्याङ्कन गर्न सकिने वस्तुगत आधार र सूचकाङ्क तोक्ने,

    – कार्यविवरण लागु भए नभएको अनुगमन गर्ने,

    – कार्यविवरण लागु नगर्ने सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई अख्तियारवालाले सचेत गराउने तथा विभागीय कारबाहीसम्म गर्न सक्ने,

    – कार्यविवरणमा उल्लेख भएका सूचकाङ्कको कार्यप्रगतिका आधारमा सुपरिवेक्षकले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने,

    – राजपत्राङ्कित कर्मचारीले आफ्नो पदको कार्यविवरणका आधारमा आफूले गर्ने कामको वार्षिक कार्ययोजना बनाई पहिलो चौमासिकभित्र कार्यालय प्रमुखबाट स्वीकृत गराई सो अनुसार कार्यसम्पादन गर्ने,

    – अन्त्यमा, कर्मचारी कार्यविवरण कर्मचारीको पदीय जिम्मेवारी र जवाफदेहिताको विवरण हो । यो व्यक्तिकेन्द्रित नभई पदकेन्द्रित हुन्छ । यसलाई सङ्गठनको कार्यक्षेत्र, सोच, लक्ष्य, उद्देश्य, योजना, कार्यव्रmमसमेतको विश्लेषण गरी तयार गरिन्छ । निजामती सेवा ऐन तथा नियमावलीमा निजामती सेवाको पदको कार्यविवरण तयार गरी लागु गर्ने सम्बन्धमा नेतृत्वलाई जिम्मेवार र जवाफदेही बनाइएको छ । राजपत्राङ्कित श्रेणीका कर्मचारीलाई स्वयम् प्रेरित भई कार्यविवरण अनुरूपको वार्षिक कार्ययोजना बनाई कार्यसम्पादन गर्न र सुपरिवेक्षकलाई कार्यविवरणका उल्लिखित सूचकाङ्कका आधारमा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नसमेत कानुनले निर्देशित गरेको छ ।

     

    ३.  फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, २०७९ ले लिएका उद्देश्य र रणनीति उल्लेख गर्नुहोस् ।

    नेपालको संविधानले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका साथै प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ । पछिल्लो समय जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण र औद्योगिकीकरण तथा आमनागरिकको उपभोग प्रवृत्तिमा आएको परिवर्तनसँगै फोहोरमैलाको परिमाण र प्रकृतिमा बढोत्तरी भएको छ । संवैधानिक प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनका लागि फोहोरमैलाको व्यवस्थापनमा तहगत सरकारको भूमिकासहितको स्पष्ट नीतिको आवश्यकता महसुस गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, २०७९ जारी भएको छ ।

    क) नीतिका उद्देश्यहरू

    – घरेलु, औद्योगिक र सेवा क्षेत्रबाट उत्पादन हुने फोहोरमैलाको व्यवस्थापनसम्बन्धी कानुन तथा मापदण्डलाई मार्गदर्शन गर्नु,

    – फोहोरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्नु,

    – फोहोरमैला व्यवस्थापनमा सङ्घीय एकाइको भूमिका स्पष्ट गर्नु,

    – फोहोरमैला व्यवस्थापनमा नवीनतम प्रविधिको उपयोग र लगानी प्रवर्धनलाई प्रोत्साहन गर्दै फोहोरलाई स्रोतका रूपमा परिचालन गरी अर्थतन्त्रमा योगदान गर्नु,

    ख) नीतिका रणनीतिहरू

    – फोहोरमैलाको प्रकृति अनुसार वर्गीकरण गरी व्यवस्थापनका लागि कानुनी आधार तयार गर्ने,

    – फोहोरमैलाको प्रकृति अनुसार वर्गीकरण गरी अलग अलग मापदण्ड तर्जुमा र कार्यान्वयन गर्ने,

    – फोहोरमैलालाई स्रोतमै न्यूनीकरण गरी विसर्जन स्थलको उपयोगलाई दिगो बनाउने,

    – फोहोरमैला व्यवस्थापनमा नागरिक दायित्व अभिवृद्धि गर्ने,

    – फोहोरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी तथा भूमिका स्पष्ट गर्ने,

    – फोहोरमैला व्यवस्थापनमा सहलगानी, साझेदारी, सहकार्य र सहभागिता अभिवृद्धि गर्ने,

    – फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन, अनुसन्धान र सुदृढ तथ्याङ्कीय आधार तयार गर्ने,

    – फोहोरमैला व्यवस्थापनमा संलग्न निकाय तथा सरोकारवालाको क्षमता विकास गर्ने,

     

    ४.  लेखा परीक्षणले सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न कसरी योगदान गर्छ ? सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न नेपालको संविधानमा के कस्तो व्यवस्था गरिएको छ ? उल्लेख गर्नुहोस् ।

    कुनै निकायले गरेको आर्थिक कारोबारको स्वतन्त्र तबरले जाँच, परीक्षण एवं मूल्याङ्कन गरी प्रतिवेदन गर्ने कार्यलाई लेखा परीक्षण भनिन्छ । महालेखा परीक्षकले सार्वजनिक निकायको लेखा परीक्षण गरी सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न मद्दत गर्छ । लेखा परीक्षणले सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न देहायबमोजिम योगदान गर्छ :

    – सार्वजनिक निकायले आर्थिक कारोबार गर्दा प्रचलित कानुनको परिपालना भए नभएको विषय परीक्षण हुन्छ,

    – सार्वजनिक स्रोतको उपयोग मितव्ययी, दक्ष र प्रभावकारी रूपमा भए नभएको विषय परीक्षण हुन्छ,

    – सार्वजनिक स्रोतको चुहावट, दुरुपयोग, नोक्सानी पत्ता लगाउने, असुलउपर गराउने र भविष्यमा दुरुपयोग हुन नदिन सार्वजनिक पदाधिकारीलाई सचेत गराउँछ,

    – सार्वजनिक निकायको कोष सञ्चालनमा पारदर्शिता प्रवर्धन गर्छ,

    – सार्वजनिक सम्पत्तिको संरक्षण र प्रभावकारी उपयोग गर्न पदाधिकारीलाई प्रेरित गर्छ,

    – आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्छ,

    – नीतिगत, कार्यविधिगत तथा सङ्गठनात्मक व्यवस्थामा देखिएका कमीकमजोरी औँल्याई सुधारका लागि सुझाव दिन्छ,

    – सार्वजनिक पदाधिकारीको कार्यसम्पादनमा सुधार गर्नुपर्ने विषय पहिचान गरी सुधारका लागि सुझाव दिन्छ,

    – सार्वजनिक स्रोत व्यवस्थापनका समस्या उजागर गरेर सुधारका उपाय सिफारिस गर्छ,

    – सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न नेपालको संविधानमा गरिएको व्यवस्था :

    – नेपालको संविधानले अवलम्बन गरेको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको संरचनाले संसदीय नियन्त्रण र निगरानी तथा महालेखा परीक्षकको नियमित परीक्षणको माध्यमबाट सरकारको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न जोड दिएको छ । यस सम्बन्धमा नेपालको संविधानमा भएको व्यवस्थालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    – संविधानमा तीन वटै तहको आर्थिक कार्यप्रणालीसम्बन्धी व्यवस्था रहेको छ, जस अनुसार सरकारको जनप्रतिनिधिमूलक अङ्गले वार्षिक बजेट अनुमोदन गरेपश्चात् मात्र सरकारले खर्च गर्न पाउँछ,

    – सार्वजनिक खर्च पद्धतिलाई व्यवस्थित र जवाफदेही बनाउन सङ्घीय संसद्ले आर्थिक कार्यविधिसम्बन्धी कानुन निर्माण गर्ने,

    – सार्वजनिक निकायले गर्ने आर्थिक कारोबारको लेखा परीक्षण महालेखा परीक्षकबाट हुने,

    – सार्वजनिक निकायले सङ्घीय कानुनबमोजिम महालेखा परीक्षकले तोकेको ढाँचामा आर्थिक कारोबारको लेखा राख्नुपर्ने,

    – महालेखा परीक्षकले लेखा परीक्षणको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने,

    – राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा सो प्रतिवेदन पेस गर्ने,

    – सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा लेखा परीक्षण प्रतिवेदनउपर छलफल गरी कार्यान्वयनका लागि सरकारलाई सुझाव एवं निर्देशन दिने,

    अन्त्यमा, लेखा परीक्षणले सरकारी कोष सञ्चालनमा पारदर्शिता, कानुनीपालना, मितव्ययिता, दक्षता र प्रभावकारिता सुनिश्चित गर्दै सार्वजनिक वित्तीय उत्तरदायित्वलाई सुदृढ बनाउँछ । नेपालको संविधानले सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्ने सम्बन्धमा राष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय संसद्, सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको भूमिका स्पष्ट पारेको छ । जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संसद्बाट हुने वित्तीय नियन्त्रण र महालेखा परीक्षकबाट हुने लेखा परीक्षण कार्यले सार्वजनिक निकायको वित्तीय उत्तरदायित्व प्रवर्धन गर्न महìवपूर्ण भूमिका खेल्छ ।

    (गोरखा पत्रको बुधबारीय अंकबाट साभार गरिएको लोकसेवा सामग्री)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100