काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको बजेट आकर्षक देखिए पनि यसको संरचना र आकार सन्तुलित नभएकाले अपेक्षित परिणाम दिन नसक्ने पूर्व अर्थमन्त्रीहरूले टिप्पणी गरेका छन्।
नेपाल उद्योग व्यापार महासंघले काठमाडौँमा आयोजना गरेको बजेट समीक्षासम्बन्धी कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले वर्तमान बजेटबारे आ(आफ्नो धारणा राख्दै यसको कार्यान्वयन पक्ष कमजोर हुने संकेत गरेका हुन्।
कार्यक्रममा सहभागी वक्ताहरूले बजेट प्रारम्भिक रूपमा सुन्दा आकर्षक लागे पनि वास्तविक अर्थतन्त्रमा प्रभाव पार्ने आधार कमजोर रहेको बताएका छन्। उनीहरूका अनुसार आवश्यक स्रोत र कार्यान्वयन क्षमताबिनै ठूलो आकारको बजेट ल्याउँदा आर्थिक सन्तुलनमा असर पर्ने जोखिम रहन्छ।
पूर्व अर्थमन्त्रीहरूले विशेष गरी बजेटको संरचनागत असन्तुलनप्रति चिन्ता व्यक्त गर्दै उपलब्ध स्रोतसँग मेल नखाने खर्च योजना दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुने धारणा राखे। उनीहरूले उद्योग(व्यवसाय क्षेत्रमा देखिएको मन्दीको अवस्थामा यस्तो बजेट कार्यान्वयन थप कठिन बन्न सक्ने पनि औँल्याए।
कार्यक्रममा सहभागीहरूले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकारलाई उल्लेखनीय चुनौती सामना गर्नुपर्ने निष्कर्षसमेत निकालेका छन्।