नेपालमा पहिलो ‘जेडब्लू म्यारिअट’ भित्रिँदै - Chaitanya News
  • 2026-06-09
  • 14:44:36
  • मंगलबार,जेठ २६, २०८३
  • नेपालमा पहिलो ‘जेडब्लू म्यारिअट’ भित्रिँदै

    नेपालमा पहिलो ‘जेडब्लू म्यारिअट’ भित्रिँदै

    काठमाडौं– नेपालमा पहिलो ‘जेडब्लू म्यारिअट’ भित्रिने भएको छ । व्यापारिक घराना एमएस ग्रुपको भगिनी संस्था क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले नेपालमा पहिलो पटक जेडब्लू म्यारियट’ ब्रान्ड भित्र्याउने भएको हो।

    हस्पिटालिटीले म्यारिअट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । यी दुई कम्पनीबीचको यो चौथो सहकार्य हो। जसले नेपालको लक्जरी आतिथ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा थपेको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले जनाएको छ।

    कम्पनीका अनुसार सन् २०३१ को सुरुवातसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जेडब्लू म्यारिअट होटल काठमाडौंमा २२१ लक्जरी कोठा रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल र सांस्कृतिक केन्द्रमा सहज पहुँच पुग्ने समेत कम्पनीले उल्लेख गरेका छन्। होटेलमा विभिन्न प्रकारका डाइनिङ आउटलेट, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, ‘जेडब्लू गार्डेन’ र १,६०० वर्ग मिटरभन्दा बढीको हल उपलब्ध हुने बताइएको छ।

    उक्त होटल व्यवस्थापन सम्झौतामा क्यापिटल होटल एण्ड हस्पिटालिटीका प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारिअट एसिया प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राज मेनलगायतले हस्ताक्षर गरे।

    उता, क्यापिटल होटलका तर्फबाट शशिकान्त अग्रवाल र म्यारिअट इन्टरनेसनलका तर्फबाट डेभिड म्यारिअटबीच समेत थप सम्झौता भएको छ। कार्यक्रममा सांसद मिङ्मा डेभिड शेर्पा समेत उपस्थित थिए।

    म्यारिअटसँगको पुनः सहकार्यले नेपालमा थप लक्जरी सेवा उत्पादनको अवसर सिर्जना गरेको र यसले नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान दिने प्रवन्ध निर्देशक अग्रवालले बताए। दक्षिण एसियामा म्यारिअट इन्टरनेसनलको द्रुत रूपमा विस्तार भइरहेको पोर्टफोलियोको पछिल्लो कडी हुने कम्पनीको भनाइ छ।