काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नबन्दै भत्काउने खेलमा लाग्न नहुने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यो सरकारले लोकतन्त्रको रक्षा, संवद्र्धन र सुदृढीकरणका लागि काम गर्ने विश्वास व्यक्त गरे।
‘हामी लोकतान्त्रिक मूल्य मान्यतामा चलौँ। सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? गोटी चालाचाल होइन, काम गर्ने बाटो समातौँ। आज राष्ट्रिय एकताको आवश्यक्ता छ। एकतावद्ध भएर राष्ट्र निर्माणका काममा लागौँ न। म सबै दलहरुलाई आग्रह, आह्वान गर्न चाहन्छु। बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ। रचनात्मक ढंले हाम्रो समय उपयोग गरौँ,’ उनले भने।
उनले यतिबेला अर्थतन्त्र ऋणात्मक अवस्थामा रहेको र त्यो गम्भीर विषय भएको बताए। उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको धारणा राखे।
अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको बताए।
‘अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ। धेरै गम्भीर अवस्थामा। राजश्व उपयुक्त ढंगले उठिरहेको छैन। धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको छ। पहिला यस्तो भएको थिएन। ऋणात्मक भएको छ। यो गम्भीर कुरा हो’, उनले भने, ‘वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो छ, आयात गर्ने स्थिति छैन। निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भइरहेका छन्। यस्तो अवस्थामा महंगी बढ्दो छ, जनजीवन कष्टकर छ। निर्वाचनपछि प्रतिनिधि सभा यी सबै समस्याहरुको सकारात्मक समाधान खोज्नुपर्ने र यस्ता समस्याबाट रोकेर अघि बढ्नुपर्ने छ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए।