काठमाडौँ — नेपाल सरकारले सैनिक सेवा नियमावली, २०६९ मा संशोधन गर्दै सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३ जारी गरेको छ। रक्षा मन्त्रालयका अनुसार उक्त नियमावली जेठ २१ गते नेपाल राजपत्रमा प्रकाशित भएको हो।
संशोधित नियमावलीमा सैनिक तथा फलोअर्स पदको भर्ती प्रक्रियालाई थप व्यवस्थित बनाइएको छ। भर्ती छनोट केन्द्रबाट मागभन्दा बढी सङ्ख्यामा उत्तीर्ण भएका उम्मेदवारको योग्यताक्रम सूची तयार गरी सोही आधारमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ। साथै, सफल उम्मेदवारसँगै वैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्ने प्रावधान पनि थपिएको छ।
नियमावलीअनुसार पदपूर्ति समितिले योग्यताक्रमका आधारमा उम्मेदवार सिफारिस गर्नेछ। सिफारिस भएका उम्मेदवार तालिममा सहभागी हुन नसकेमा वैकल्पिक उम्मेदवारबाट पदपूर्ति गर्न सकिनेछ। आवश्यक परे विभिन्न भर्ती छनोट केन्द्रबाट एकीकृत योग्यताक्रम सूचीसमेत तयार गर्न सकिने व्यवस्था गरिएको छ।
संशोधनमार्फत केही पदका लागि बढुवा समिति तथा पदोन्नतिसम्बन्धी व्यवस्थामा परिवर्तन गरिएको छ। विदेशी सैनिक शिक्षालयबाट अधिकृत क्याडेट आधार तालिम पूरा गरेका अधिकृतको ज्येष्ठता निर्धारणसम्बन्धी व्यवस्था पनि परिमार्जन गरिएको छ।
अध्ययन बिदा तथा तालिमसम्बन्धी व्यवस्थामा समेत संशोधन गरिएको छ। अध्ययन वा तालिम पूरा गरी फर्किएका सैनिक व्यक्तिले तोकिएको सेवा अवधि पूरा नगरेमा वा स्वीकृत विषयभन्दा बाहिर अध्ययन गरेमा त्यस्तो अध्ययन वा तालिममा लागेको खर्च असुल गरिनेछ। तर, गम्भीर बिरामी वा शारीरिक तथा मानसिक रूपमा सेवामा रहन असमर्थ भएका व्यक्तिलाई मेडिकल बोर्डको सिफारिसका आधारमा छुट दिन सकिने व्यवस्था गरिएको छ।
संशोधित नियमावलीमा प्रयोगशालामा जोखिमयुक्त कार्य गर्ने सैनिक व्यक्तिलाई नेपाल सरकारले तोकेबमोजिम जोखिम भत्ता उपलब्ध गराउने नयाँ व्यवस्था थपिएको छ। साथै, प्रयोगशालाको परिभाषासमेत स्पष्ट गरिएको छ।
त्यसैगरी, जङ्गी कारबाही, सेना परिचालन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, विपद् व्यवस्थापन, विकास निर्माण तथा प्रकृति संरक्षणसम्बन्धी कार्यमा संलग्न सैनिक व्यक्तिका सेवा–सुविधासम्बन्धी केही व्यवस्थामा पनि संशोधन गरिएको छ।
राजपत्रअनुसार सन्तति सुविधा प्राप्त गर्ने उमेरसम्बन्धी प्रावधान, उपचार खर्च, विशेष पोसाक तथा अन्य सामग्री व्यवस्थापनसम्बन्धी केही नियम र अनुसूचीहरूमा समेत संशोधन गरिएको छ।
Post Views: 28