टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि सुरु हुने, कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने - Chaitanya News
  • 2026-06-05
  • 18:40:33
  • शुक्रबार,जेठ २२, २०८३
  • टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि सुरु हुने, कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

    टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन भोलिदेखि सुरु हुने, कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

    काठमाडौँ– संघीय संसद् र सातै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अभ्यास आदान–प्रदानलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुने भएको छ।

    दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनका लागि संघीय तथा प्रदेश तहका शीर्ष पदाधिकारीहरू धनगढी पुगेका छन्। प्रतिनिधि सभाका सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रूवीकुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन पुगेका हुन्।

    शनिबार बिहान ८स्३० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि बन्द सत्रमा संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा व्यवस्थापकीय प्रणालीसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

    संघीय संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा संसदीय अनुगमन कार्यमा एकरूपता सम्बन्धी विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

    त्यसैगरी संविधानसभा सदस्य खिमलाल देवकोटाले संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वयका माध्यमबाट कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा धारणा प्रस्तुत गर्नेछन्। पूर्वसचिव डा। सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

    कार्यपत्र प्रस्तुतिपछि संघीयता कार्यान्वयनको अवस्था, संसदीय सञ्चालनका असल अभ्यास, अन्तर(व्यवस्थापिका समन्वयका पक्ष तथा आगामी कार्यदिशाबारे सहभागीहरूबीच विस्तृत छलफल हुने आयोजकले जनाएको छ।