लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-03
  • 13:44:01
  • बुधबार,जेठ २०, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    स्थानीय तहको व्यवस्थापकीय अधिकार  

    १.  गाउँ सभा र नगर सभाको गठन कसरी हुन्छ ? स्थानीय तहमा व्यवस्थापकीय र कार्यकारिणी अङ्गबिचको अन्तरसम्बन्धबारे चर्चा गर्नुहोस् । साथै स्थानीय तहको व्यवस्थापकीय अधिकार र सोको प्रयोग सम्बन्धमा संविधानमा भएको व्यवस्था उल्लेख गर्नुहोस् । 

    नेपालको संविधानले राज्यको व्यवस्थापकीय शक्तिलाई सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । गाउँ सभा र नगर सभा स्थानीय तहका व्यवस्थापकीय अङ्ग हुन् । स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहन्छ । यी सभामा जनताबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख र वडा समितिका पदाधिकारी तथा सभाले निर्वाचित गरेका दलित वा अल्पसङ्ख्यक सदस्य रहन्छन् । स्थानीय सरकारका नीति, कार्यक्रम, कानुन, योजना तथा बजेटमार्फत स्थानीय शासनको दिशानिर्देश गर्ने कार्य गाउँ सभा र नगर सभा जस्ता व्यवस्थापकीय अङ्गले गर्दछन् भने सोको कार्यान्वयन गरी शासनको अनुभूति दिने कार्य कार्यकारिणी अङ्गले गर्दछन् ।

    गाउँ सभा र नगर सभाको गठन

    – गाउँ सभामा गाउँ कार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य र गाउँ कार्यपालिकाका लागि गाउँ सभाले निर्वाचित गरेका दुई जना दलित वा अल्पसङ्ख्यक समुदायबाट सदस्य रहन्छन्,

    – नगर सभामा नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य र नगर कार्यपालिकाका लागि नगर सभाले निर्वाचित गरेका तीन जना दलित वा अल्पसङ्ख्यक समुदायबाट सदस्य रहन्छन्,

    – यसरी गठन हुने गाउँ सभा वा नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व रहन्छ,

    – दलित वा अल्पसङ्ख्यक समुदायको सदस्यबाहेक गाउँ सभा र नगर सभामा प्रतिनिधित्व गर्ने पदाधिकारीको निर्वाचन सम्बन्धित स्थानीय तहमा रहेका मतदाताको गोप्य मतदानबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमार्फत हुन्छ,

    – गाउँ सभा वा नगर सभाको सदस्य हुनका लागि क्रमशः गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्छ,

    – गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ,

    – नेपाल सरकारले निर्वाचन आयोगसँगको परामर्शमा गाउँ सभा र नगर सभाको निर्वाचनको मिति तय गर्छ र सोही मितिमा निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यसरी लोकतान्त्रिक प्रक्रियाबाट आवधिक रूपमा गाउँ सभा र नगर सभाको गठन हुने गर्दछ ।

    स्थानीय तहका व्यवस्थापकीय र कार्यकारिणी अङ्गबिचको अन्तरसम्बन्ध :

    – स्थानीय तहका व्यवस्थापकीय अङ्ग भनेका गाउँ सभा र नगर सभा हुन् । गाउँ कार्यपालिका र नगर कार्यपालिका स्थानीय तहका कार्यकारिणी अङ्ग हुन् । यी अङ्ग संरचनागत रूपमा र कार्यगत रूपमा आपसमा सम्बन्धित छन् ।

    क)  संरचनागत अन्तरसम्बन्ध

    – गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष हुने,

    – प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठक र नगर सभाको बैठकको सचिव भई

    कार्यसम्पादन गर्ने,

    – वडाध्यक्ष, कार्यपालिका सदस्यका रूपमा निर्वाचित महिला सदस्य तथा दलित वा अल्पसङ्ख्यक समुदायबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने सदस्यसमेत गरी कार्यपालिकाका सम्पूर्ण पदाधिकारी सभाका सदस्य हुने,

    – गाउँ सभा वा नगर सभाको निर्वाचन सम्पन्न भएपश्चात् सभाका सदस्यले कार्यपालिकालाई पूर्णता दिने गरी महिला सदस्य र दलित वा अल्पसङ्ख्यक सदस्यको निर्वाचन गर्ने,

    – कार्यपालिकाको उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने र सभाले आफूमध्येबाट न्यायिक समितिका सदस्य निर्वाचित गरी समितिलाई पूर्णता दिने,

    ख)  कार्यगत अन्तरसम्बन्ध 

    – स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट प्रस्ताव कार्यपालिकाले तयार गरी सभामा पेस गर्ने र सभाबाट अनुमोदन हुने,

    – सभाबाट अनुमोदित बजेटको कार्यान्वयन नगर कार्यपालिकाले गर्ने,

    – सभाले स्थानीय तहको विधायिकी अधिकारको प्रयोग गरी कानुन बनाउने र कार्यपालिकाले सोको कार्यान्वयन गर्ने,

    – सभाको स्वीकृतिबेगर नगर कार्यपालिकाले कर लगाउन र उठाउन नपाउने,

    – कार्यपालिका र न्यायिक समितिको प्रगति प्रतिवेदन सभामा पेस भई छलफल हुने,

    – कार्यपालिकाको कामकारबाहीका सम्बन्धमा सभा र सभाका समितिमा छलफल हुने र कार्यपालिकालाई निर्देशन प्रदान हुने,

    – सभाले स्वीकृत गरेको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा गठित समिति तथा वडा समितिले गर्ने र सोको प्रतिवेदनउपर कार्यपालिकाको बैठकमा छलफल हुने,

    – गाउँपालिका वा नगरपालिकाको लेखा परीक्षण प्रतिवेदनउपर सभामा छलफल हुने र बेरुजु नियमित गर्न सभाको भूमिका रहने ।

    स्थानीय तहको व्यवस्थापकीय अधिकार र सोको प्रयोग

    – स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहने,

    – गाउँ सभा र नगर सभाको व्यवस्थापकीय अधिकार संविधानको अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भएबमोजिम हुने,

    – अनुसूची–८ र अनुसूची–९ मा उल्लिखित विषयमा गाउँ सभा र नगर सभाले कानुन बनाउन सक्ने,

    – गाउँ सभा र नगर सभाले कानुन बनाउने प्रक्रिया प्रदेश कानुनले निर्धारण गरेबमोजिम हुने ।

    – अन्त्यमा, नेपालको संविधानले स्थानीय तहमा जनप्रनिधिमार्फत शासन सञ्चालन गरी लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन व्यवस्थापकीय र कार्यकारिणी अङ्गको व्यवस्था गरेको छ । यी अङ्ग परस्पर सम्बन्धित छन् । स्थानीय तहको कानुन निर्माणसम्बन्धी सारभूत विषय संविधानको अनुसूचीमा उल्लेख गरिएको छ भने प्रक्रियागत विषय प्रदेश कानुनले निर्धारण गरेबमोजिम हुने व्यवस्था रहेको छ । लोकतान्त्रिक प्रक्रियाबाट आवधिक रूपमा गाउँ सभा र नगर सभाको गठन हुने व्यवस्था कार्यान्वयनसँगै नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था थप गतिशील, सुदृढ र उन्नत हुने कुरामा विश्वास गर्न सकिन्छ ।

     

    २.  सूचनाको हक भनेको के हो ? नेपालमा सूचनाको हकको आवश्यकता र अपवाद सम्बन्धमा विकसित मान्यताबारे चर्चा गर्दै सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायको दायित्व उल्लेख गर्नुहोस् ।

    सार्वजनिक निकायमा रहेको सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने अधिकार नै सूचनाको हक हो । नेपाली नागरिकको मौलिक हकका रूपमा रहेको सूचनाको हकले देहायका अधिकारसमेतलाई जनाउँछ :

    – सार्वजनिक निकायमा रहेका कुनै लिखत, सामग्री वा निकायको कामकारबाहीको अध्ययन वा अवलोकन गर्ने,

    – लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने,

    – सार्वजनिक महत्वको निर्माण कार्यस्थलको भ्रमण र अवलोकन गर्ने,

    – कुनै सामग्रीको प्रमाणित नमुना लिने,

    – कुनै यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने ।

    नेपालमा सूचनाको हकको आवश्यकता र अपवादसम्बन्धी मान्यता

    नेपाली नागरिकको सुसूचित हुने हकको संरक्षण र प्रचलन गराउन सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी गरिएको छ । यस ऐनले सूचनाको हकको आवश्यकता र अपवाद सम्बन्धमा निम्न मान्यता आत्मसात् गरेको देखिन्छ :

    क)  सूचनाको हकको आवश्यकतासम्बन्धी मान्यता 

    – शासकीय पारदर्शिता प्रवर्धन गर्न,

    – सार्वजनिक जवाफदेहिता प्रवर्धन गर्न,

    – नागरिक सर्वोच्चता कायम गर्न,

    – लोकतान्त्रिक प्रणालीको सुदृढीकरण गर्न,

    – सुशासन प्रवर्धन गर्न,

    – सूचना संस्कृतिको विकास गर्न,

    – सरकारी सूचनाको वर्गीकरण र महत्वपूर्ण सूचनाको संरक्षण गर्न,

    ख)  सूचनाको हकको अपवादसम्बन्धी मान्यता 

    – सूचनाको हकले राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई खलबल्याउनु हुँदैन,

    – सूचनाको हकले अपराधी पत्ता लगाउन गरिने अनुसन्धान कार्यमा वाधा अवरोध सिर्जना गर्नु हुँदैन,

    – सूचनाको हकले स्वच्छ व्यावसायिक प्रतिस्पर्धामा आघात पार्नु हुँदैन,

    – सूचनाको हकले जातीय वा साम्प्रदायिक हिंसा र झगडालाई बढावा दिनु हुँदैन,

    – सूचनाको हकले व्यक्तिको गोपनीयताको अधिकार उल्लङ्घन गर्न मिल्दैन ।

    सार्वजनिक निकायको भूमिका :

    प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु/गराउनु पर्छ । यसका लागि सार्वजनिक निकायले देहायका काम गर्नु पर्छ ः

    – सूचनाको वर्गीकरण र अद्यावधिक गर्ने,

    – समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने । यस्तो काम राष्ट्रिय भाषा वा आमसञ्चारका माध्यमबाट गर्न सकिन्छ,

    – सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने,

    – आफ्नो कामकारबाही खुला र पारदर्शी रूपमा गर्ने,

    – आफ्ना कर्मचारीका लागि उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने ।

    यसरी सूचनाको हकले सार्वजनिक निकायमा रहेका सूचनामा नेपाली नागरिकको भौतिक वा अभौतिक दुवै खालको पहुँचलाई सुनिश्चित गरेको छ । साथै सार्वजनिक निकायको दायित्व निर्धारण गरी राज्यलाई नागरिकप्रति जिम्मेवार र जवाफदेही बनाइएको छ ।

     

    ३.  आवधिक योजना र बजेटबिचको समन्वय र अन्तरसम्बन्ध किन आवश्यक छ ? नेपालमा सङ्घीय योजना र बजेट प्रणालीबिच समन्वय र अन्तरसम्बन्ध स्थापित गर्न गरिएका नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध उल्लेख गर्नुहोस् ।

    आवधिक योजना र वार्षिक बजेट सार्वजनिक वित्त व्यवस्थापनका दुई महत्वपूर्ण आधारस्तम्भ हुन् । आवधिक योजनाले मुलुकमा उपलब्ध स्रोतसाधनलाई रणनीतिक रूपमा परिचालन गरी निश्चित समयावधिभित्र हासिल गर्नुपर्ने विकास लक्ष्य, उद्देश्य, रणनीति तथा प्राथमिकता निर्धारण गर्दछ । आवधिक योजनाले लिएको सोच, लक्ष्य, उद्देश्य र रणनीति मुताबिक स्रोत परिचालन गर्न सकेमा मात्र सार्वजनिक वित्तको कुशल परिचालन भई अपेक्षित परिणाम हासिल गर्न सकिन्छ । आवधिक रूपमा के कस्ता विकास लक्ष्य हासिल गर्ने भन्ने विषय आवधिक योजनाले निक्र्योल गर्दछ । आवधिक योजनाका लक्ष्यलाई वार्षिक रूपमा स्रोत वितरणका माध्यमबाट कार्यान्वयन गर्न वार्षिक बजेट तयार गरिन्छ । त्यसै गरी वार्षिक बजेट कार्यान्वयनको उपलब्धि र चुनौतीका आधारमा आवधिक योजनाको अनुगमन तथा मूल्याङ्कन गरी पृष्ठपोषण प्राप्त गर्न सकिन्छ । प्राप्त पृष्ठपोषणका आधारमा योजना तथा बजेट प्रणालीलाई निरन्तर सुधार गर्न सकिन्छ ।

    आवधिक योजना र वार्षिक बजेटबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्नुपर्नाका कारण ः

    – विकासका राष्ट्रिय लक्ष्य निर्धारण गरी स्रोतसाधनको रणनीतिक परिचालन गर्न,

    – वार्षिक बजेटलाई दीर्घकालीन विकास लक्ष्यसँग आबद्ध गर्न,

    – वार्षिक स्रोत विनियोजनलाई आवश्यकता र प्राथमिकतामा आधारित बनाई वाञ्छित नतिजा हासिल गर्न,

    – स्रोतसाधनको दिशाहीन विनियोजन नियन्त्रण गर्न,

    – आवधिक योजनामा समावेश गरिएका रणनीतिक एवं रूपान्तरणकारी आयोजना तथा कार्यक्रममा स्रोत अभाव हुन नदिन,

    – सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्न,

    – सन्तुलित र दिगो विकासलाई निरन्तरता दिन ।

    नेपालमा सङ्घीय योजना र बजेट प्रणालीबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्न गरिएका नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध :

    – नेपालको संविधानमा उल्लेख भएका मौलिक हक, राज्यका नीति, निर्देशक सिद्धान्त र दायित्वले राज्यको दृष्टिकोण र कार्यदिशा तय गर्दछन् । यी विषयलाई आवधिक योजना र वार्षिक बजेट तर्जुमाको आधारका रूपमा लिइन्छ । त्यस्तै गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीमार्फत आवधिक योजना र वार्षिक बजेट प्रणालीबीच समन्वय स्थापित गर्न विभिन्न प्रबन्ध गरिएको छ । संवैधानिक निकायका सुझाव, सङ्घीय संसद्को निर्देशन तथा अदालतको आदेश तथा नेपालले अन्तर्राष्ट्रिय जगत्समक्ष गरेका प्रतिबद्धताले समेत सार्वजनिक वित्तको कुशल विनियोजन र कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन् । आवधिक योजना र वार्षिक बजेटबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्न गरिएका महत्वपूर्ण प्रबन्ध यसप्रकार छन् :

    क)  नीतिगत एवं कानुनी प्रबन्ध :

    – संविधानमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा योजना प्रणाली र बजेट प्रणाली स्थापित गर्ने र समन्वय गर्ने अधिकार प्रदान,

    – बजेट तर्जुमा गर्दा समष्टिगत वित्त खाका, बजेट खाका र नतिजा खाका समावेश गरी मध्यमकालीन खर्च संरचनाको खाका तयार गर्नुपर्ने,

    – राष्ट्रिय स्रोत अनुमान तथा सीमा निर्धारण समितिले प्रत्येक वर्षमा आवधिक योजना र मध्यमकालीन खर्च संरचनालाई आधारमा मानेर तीन वर्षको खर्चको आवश्यकता आकलन गर्नुपर्ने व्यवस्था,

    – बजेट सिलिङ निर्धारण र मार्गदर्शन प्रदान गर्ने व्यवस्था,

    – आयोजना बैङ्कको तयारी र वार्षिक बजेटसँग आबद्धता,

    – आयोजना वर्गीकरणका मापदण्ड निर्धारण,

    – राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा बजेट छलफलको व्यवस्था,

    – बजेट पेस गर्नुअगाडि बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुने व्यवस्था,

    – बजेट तर्जुमा दिग्दर्शनका प्रावधान,

    – अन्तरसरकारी वित्त व्यवस्थापन ऐनका उल्लेखित सन्दर्भ ।

    ख)  संस्थागत प्रबन्ध

    – सङ्घीय संसद्,

    – प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,

    – महालेखा परीक्षक,

    – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,

    – अर्थ मन्त्रालय,

    – विषयगत मन्त्रालयहरू,

    – नेपाल राष्ट्र बैङ्क,

    – राष्ट्रिय योजना आयोग,

    – विषयगत मन्त्रालय तथा केन्द्रीय निकायमा

    रहेका बजेट समिति र योजना तथा अनुगमन महाशाखाहरू,

    – अन्त्यमा, आवधिक योजना र वार्षिक बजेट परस्पर सम्बन्धित विषय हुन् । योजनाले बजेटलाई दिशानिर्देश गर्छ भने बजेटले योजना कार्यान्वयनको आधार तयार गर्दछ । नेपालमा आवधिक योजना र वार्षिक बजेटबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्न नीतिगत, कानुनी तथा संस्थागत ढाँचा तय गरिएको छ । बजेट कार्यान्वयनसँगै आवधिक योजनाको कार्यान्वयन हुने भएकाले योजना र बजेटको अनुगमन तथा मूल्याङ्कन र पृष्ठपोषण प्रणालीलाई थप सुदृढ बनाउँदै वार्षिक स्रोत विनियोजनलाई योजनाका लक्ष्य र प्राथमिकतासँग आबद्ध गर्दै लैजानुपर्ने देखिन्छ ।

    (गोरखा पत्रको बुधबारीय अंकबाट साभार गरिएको लोकसेवा सामग्री)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100