काठमाडौँ– आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ।
वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरू सहितको छलफलबाट विभिन्न निर्णय गरेको छ।
बैठकले आयोगको ७६औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रबाट प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ। यसैगरी, गोरखापत्र राष्ट्रिय दैनिकमा आयोगबाट उपलब्ध हुने विशेष प्रकाशन सामग्री एक पेज रंगीन कलरमा निःशुल्क प्रकाशन गरिने र उक्त दिन आयोगसँग सम्बन्धित लेखहरू प्राथमिकता दिई प्रकाशन गर्ने प्रबन्ध मिलाउने पनि उपसमितिको निर्णय छ।
यसैगरी, राष्ट्रिय समाचार समिति ९रासस०, रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट आयोगको कार्य प्रणालीलगायत समसामयिक विषयमा लेख, अन्तर्वार्ता, अन्तर संवाद तथा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइने निर्णय गरिएको छ।
यसैगरी विज्ञापन बोर्डमार्फत लोक कल्याणकारी विज्ञापनअन्तर्गत आयोगसँग सम्बन्धित नारालाई निस्शुल्क रूपमा प्रवाह हुने व्यवस्था गरिने जनाइएको छ। साथै, अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन कार्यक्रमलगायत कार्यक्रम आयोगका विभिन्न कार्यालयबाट सञ्चालन गरिने पनि आयोगले जनाएको छ।
आयोगका सदस्य राई संयोजकत्वको उपसमितिमा आयोगका सचिव रामेश्वर दङ्गाल, सहसचिव पुरुषोत्तम शर्मा, सूचना प्रविधि निर्देशक रमेश सुवेदी, उपसचिव सुशीला पौडेल ढकाल, उपसचिव दीपक खडका, प्रमुख लेखा नियन्त्रक हिरा न्यौपाने सदस्य छन् भने उपसचिव देवीप्रसाद सुवेदी सदस्य–सचिव हुन्।
उपसमितिमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, सार्वजनिक प्रसारण सेवा नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रका प्रतिनिधि आमन्त्रित सदस्य छन्।