काठमाडौँ– मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याइएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु गर्ने भएको छ।
जेठ १५ मा प्रदेश प्रमुख डा।सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेशसभालाई सम्बोधन गरेकोमा आजदेखि त्यसमाथि छलफल सुरु हुन लागेको हो।
छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेस सरकारले कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३–८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख कर्णले वाचन गरेको २७ पृष्टको नीति तथा कार्यक्रममा ‘मेड ईन मधेश, समृद्ध प्रदेश’, ‘किसानको शान, मधेशको मखान’, कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’, ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’, ‘अप्पण बच्चाके स्कूल पठाऊ, साक्षरता के दीप जलाऊ’ जस्ता कयौँ नारा समावेश छ।