काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मुलुकमा उपलब्ध विदेशी मुद्रा सञ्चितिको अधिकतम उपयोग गर्दै आर्थिक विकासमा परिचालन गर्ने उद्देश्यले सोभरेन वेल्थ फन्ड स्थापना गर्ने अवधारणा अघि सारिएको बताएका छन्।
आज (आइतबार) अर्थ मन्त्रालयले बजेट सार्वजनिक भएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर पौडेलले विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था र त्यसबाट प्राप्त प्रतिफलबारे चर्चा गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार नेपालको आवश्यकता अनुसार करिब सात महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति पर्याप्त मानिए पनि हाल मुलुकसँग १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने स्तरको सञ्चिति रहेको छ। यति ठूलो परिमाणको सञ्चिति भए पनि त्यसबाट प्राप्त प्रतिफल भने औसतमा करिब चार प्रतिशतको हाराहारीमा सीमित रहेको उनले बताए।
गभर्नर पौडेलले यस्तो अवस्थामा विदेशी मुद्रा सञ्चितिको एक अंशलाई दीर्घकालीन आर्थिक प्रतिफल र विकासमुखी क्षेत्रमा परिचालन गर्न सकिने दृष्टिकोणसहित सोभरेन वेल्थ फन्डको अवधारणा ल्याइएको स्पष्ट पारे। उनका अनुसार उक्त संयन्त्रमार्फत उपलब्ध स्रोतलाई मुलुकको आर्थिक विस्तार र उत्पादनशील क्षेत्रमा उपयोग गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ।
उनले विदेशी मुद्रा सञ्चितिको सुरक्षा र स्थायित्व कायम राख्दै त्यसको उपयोगिता तथा प्रतिफल वृद्धि गर्ने उपाय खोज्नु आवश्यक रहेको उल्लेख गरे। सोभरेन वेल्थ फन्डको अवधारणा पनि यही उद्देश्यसँग जोडिएको उनको भनाइ थियो।