छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने घोषणा - Chaitanya News
  • 2026-05-29
  • 20:27:40
  • शुक्रबार,जेठ १५, २०८३
  • छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने घोषणा

    छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने घोषणा

    काठमाडौँ– सरकारले छात्रवृत्ति कार्यक्रम विस्तार, कला–साहित्य तथा सङ्गीत अध्ययन प्रवर्द्धन र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम घोषणा गरेको छ। यसका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि रु ८ अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ।

    संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्यालय तहदेखि उच्च शिक्षासम्म अध्ययनरत लक्षित विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रमका लागि रु ८ अर्ब ५ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।

    बजेटअनुसार सङ्गीत, कला तथा साहित्यसम्बन्धी अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गरिनेछ। साथै, गुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा भृकुटी रिसर्च इन्स्टिच्युट तथा एथ्नो म्युजिकोलोजी सेन्टर स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।

    उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई अघि बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न सक्ने नीतिगत तथा कानुनी व्यवस्था गरिने भएको छ। सरकारले यसका लागि आवश्यक नीतिगत सुधार तथा सहजीकरण गर्ने जनाएको छ।

    त्यस्तै, स्वदेशी तथा विदेशी प्राध्यापकबीच शैक्षिक तथा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ। यसबाट ज्ञान, अनुसन्धान र शैक्षिक अनुभवको आदानप्रदानमार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

    सरकारले छात्रवृत्ति, अनुसन्धान, कला–संस्कृति तथा उच्च शिक्षाको अन्तर्राष्ट्रिय सहकार्यलाई एकीकृत रूपमा अघि बढाउँदै शैक्षिक क्षेत्रको गुणस्तर सुधार र अनुसन्धानमूलक शिक्षाको विकासमा जोड दिएको जनाएको छ।