काठमाडौँ– सरकारले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल अभिवृद्धि गर्न नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने तथा महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए ।
अर्थमन्त्री वाग्लेका अनुसार स्वास्थ्यकर्मीको कार्यप्रेरणा बढाउन नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाइएको छ। त्यस्तै, समुदाय स्तरमा मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण तथा जनस्वास्थ्यसम्बन्धी सेवामा योगदान पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरिएको छ।
बजेटमार्फत सरकारले मधेस प्रदेशका प्रमुख स्वास्थ्य संस्थाको पूर्वाधार विकासलाई पनि निरन्तरता दिने घोषणा गरेको छ। यसअन्तर्गत नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल तथा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइनेछ।
यस्तै, कर्णाली प्रदेशका दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा सुरु गरिने घोषणा गरिएको छ। सरकारले दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ।
यसअघि सरकारले स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि ‘एक नागरिक, एक डिजिटल प्रोफाइल’ प्रणाली कार्यान्वयन गरिसकेको जनाएको थियो । साथै सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा स्वास्थ्य संस्थाहरूमा सुलभ फार्मेसी सञ्चालन तथा राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिको कार्यसमेत अघि बढाइएको उल्लेख गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य पूर्वाधार विस्तार, सेवा प्रवाहमा प्रविधिको प्रयोग, जनशक्ति व्यवस्थापन तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।