चेतनाले लेखेको ब्रह्माण्ड - Chaitanya News
  • 2026-05-27
  • 19:34:03
  • बुधबार,जेठ १३, २०८३
  • चेतनाले लेखेको ब्रह्माण्ड

    चेतनाले लेखेको ब्रह्माण्ड

    तोमनाथ उप्रेती:

    ब्रह्माण्डलाई बुझ्ने सबैभन्दा गहिरो दृष्टि भनेको यसलाई चेतना, ऊर्जा र भौतिकताको त्रिकोणीय संरचनामा हेर्नु हो। यी तीन तत्व अलग–अलग जस्तो देखिए पनि वास्तवमा एउटै अस्तित्वका विभिन्न अवस्था हुन्। भौतिकता स्थूल रूप हो, ऊर्जा यसको गतिशील रूप हो र चेतना यसको सूक्ष्म तथा अर्थदायक आधार हो।

    आधुनिक भौतिक विज्ञानले यसलाई अप्रत्यक्ष रूपमा पुष्टि गर्छ। सापेक्षतावादको सिद्धान्त अनुसार द्रव्य र ऊर्जा एकै सिक्काका दुई पाटा हुन्। पदार्थ ऊर्जा बन्न सक्छ र ऊर्जा पदार्थ बन्न सक्छ। यसको अर्थ, ब्रह्माण्ड ठोस वस्तुहरूको संग्रह होइन, तर रूपान्तरणशील ऊर्जाको निरन्तर प्रवाह हो। यसले स्थायित्व होइन, परिवर्तनलाई नै वास्तविकता बनाउँछ।

    तर ऊर्जा मात्र पर्याप्त व्याख्या होइन। किनभने ऊर्जा बिना दिशा, उद्देश्य वा अनुभवको हुन्छ। यहाँ चेतना प्रवेश गर्छ। आधुनिक न्यूरोसाइन्स ले देखाउँछ कि चेतना मस्तिष्कको विद्युत–रासायनिक गतिविधिसँग सम्बन्धित छ। तर चेतना केवल गतिविधि होइन, त्यो अनुभूतिको गुण हो। मस्तिष्कले संकेतहरू उत्पादन गर्छ, तर ती संकेतहरूलाई अर्थ दिने तत्व चेतना हो।

    क्वान्टम स्तरमा हेर्दा, अवलोकनले प्रणालीको परिणामलाई प्रभाव पार्ने तथ्यले चेतनाको भूमिकाबारे गहिरो प्रश्न उठाउँछ। यसले चेतना निष्क्रिय दर्शक होइन, सक्रिय सहभागी हो भन्ने संकेत दिन्छ। यद्यपि यस विषयमा वैज्ञानिक बहस जारी छ, तर यसले चेतनालाई पूर्ण रूपमा अलग राख्न नसकिने देखाउँछ।

    पूर्वीय दर्शनले यो सम्बन्ध अझ स्पष्ट बनाउँछ। भागवद्गीताले चेतनालाई आत्मा र ब्रह्मसँग जोड्छ। त्यस्तै उपनिषद् ले भन्छ—सत्य एउटै छ, तर रूप अनेक छन्। ॐ ध्वनिलाई ब्रह्माण्डीय कम्पन मानिन्छ, जसले चेतना र ऊर्जा बीचको सूक्ष्म पुलको प्रतीक दिन्छ।यसरी विश्लेषण गर्दा तीन तह स्पष्ट हुन्छन्। पहिलो, भौतिकता—दृश्य संसार। दोस्रो, ऊर्जा—गतिशील संरचना। तेस्रो, चेतना—अर्थ दिने आधार। भौतिकता बिना ऊर्जा प्रकट हुँदैन, ऊर्जा बिना भौतिकता चल्दैन, र चेतना बिना दुबै अर्थहीन हुन्छन्।

    यो सम्बन्धलाई सरल रूपमा बुझ्दा—भौतिकता शरीर हो, ऊर्जा श्वास हो, र चेतना जीवन हो। शरीर बिना श्वास चल्दैन, श्वास बिना शरीर निष्क्रिय हुन्छ, र जीवन बिना दुवै अर्थहीन हुन्छन्।

    त्यसैले ब्रह्माण्ड कुनै जड संरचना होइन। यो जीवित, गतिशील र चेतनात्मक प्रणाली हो। चेतना यसको गहिरो आधार हो। ऊर्जा यसको गतिशील प्रवाह हो। भौतिकता यसको देखिने रूप हो।

    वेदान्त दर्शनको महावाक्य “अहं ब्रह्मास्मि” (म ब्रह्म हुँ) सम्पूर्ण अस्तित्वको तत्त्वमीमांसात्मक समष्टिको परिचय हो। यो वाक्यले शरीर, चेतना, र ऊर्जा — यी तीन प्रमुख तत्त्वहरूको अविच्छिन्न समन्वयको दर्शन प्रस्तुत गर्छ। हामी जब भन्छौं, “म ब्रह्म हुँ,” त्यसको अर्थ म  स्थूल शरीर (भौतिक तत्व) होइन, विचार वा चेतना मात्र पनि होइन; बरु म त्यस्तो समग्र सत्ता हुँ जसमा चेतना (चित्), ऊर्जा (शक्ति), र पदार्थ (रूप) पूर्ण रूपमा अन्तर्भूत छन्। यो समष्टिगत दृष्टिले देखाउँछ कि व्यक्तिको अस्तित्व कुनै एक तत्वको समष्टि नभएर बहुआयामिक र परस्पर अन्तरसम्बन्धित स्वरूप हो। ब्रह्मको त्रीगुणात्मक स्वरूप सत् (अस्तित्व), चित् (चेतना) र आनन्द (शक्ति) सृष्टिको मूल सूत्र हो। सत् अर्थात् स्थायित्व र भौतिक आधार चित् भनेको अनुभूतिको चेतन केन्द्र र आनन्द भनेको दिव्य ऊर्जा वा शुद्ध शक्ति। जब यी तीन तत्व एकै ठाउँमा एकीकृत हुन्छन्, त्यही अवस्था ब्रह्म हो, र जब कुनै व्यक्तिले आफूमा यी सबै तत्वहरूको अनुभव गर्छ, उसले “अहं ब्रह्मास्मि” को वास्तविक अनुभूति गर्छ।

    मानव शरीरभित्र यो त्रयतत्त्वको उपस्थिति स्पष्ट देख्न सकिन्छ। भौतिक शरीर सजीव र गतिशील हुनका लागि ऊर्जाको आवश्यक पर्छ र ती ऊर्जा प्रयोग गर्न चेतनाको निर्देशन चाहिन्छ। उदाहरणका लागि, एक साधारण क्रियामा जस्तै हात उठाउन शारीरिक मांसपेशीको गतिविधि (पदार्थ) लाई सक्रिय बनाउने शक्ति (ऊर्जा) चाहिन्छ, र त्यो शक्ति प्रयोग कसरी गर्ने भन्ने निर्णय चेतनाले गर्छ। यसरी, चेतना, ऊर्जा र पदार्थ एक अर्कामा निर्भर छन् एकको अनुपस्थितिमा बाँकी दुई तत्त्व निरर्थक हुन्छन्। आधुनिक विज्ञानले पनि यो अवधारणा पुष्टि गर्छ। ऊर्जा रूपान्तरण (जस्तै, पदार्थ ऊर्जामा बदलिन्छ), चेतनाको न्यूरोलोजिकल आधार र शरीरको बायो-केमिकल प्रक्रिया सबैले भन्छन् कि कुनै पनि जीवनीय प्रणाली त्रयात्मक तत्त्वहरूको समुच्चय हो। यही तत्त्वमीमांसाको सार हो आत्मा अर्थात् ब्रह्मको अभिव्यक्ति हुनु। चेतना विना ऊर्जा अन्धकार हो, ऊर्जा विना पदार्थ निरुपयोगी हुन्छ र पदार्थ विना चेतनाको अभिव्यक्ति सम्भव छैन। यसैले “अहं ब्रह्मास्मि” भन्नुको अर्थ म यस त्रैगुणिक समष्टिको सार हुँ भन्ने हो  न कुनै एक पक्ष, न केवल शरीर, न केवल आत्मा, तर समग्र सृष्टिको सारभूत अभिव्यक्ति।

    यो अवधारणाले व्यक्ति र ब्रह्माण्डबीचको सम्बन्धलाई स्पष्ट बनाउँछ। वेदान्तको अनुसार, प्रत्येक जीव मानव रूपी सानो ब्रह्माण्ड हो र समग्र ब्रह्माण्ड उसको प्रतिबिम्ब हो। यसको अर्थ, ब्रह्माण्डमा जे घट्छ, त्यसको लघुरूप मानव जीवनमा पनि घट्छ। जस्तै, ब्रह्माण्डीय ऊर्जा (सूर्यको ताप, गुरुत्वबल), ब्रह्माण्डीय पदार्थ (ताराहरू, ग्रहहरू), र चेतन प्रणाली (जीवन र मस्तिष्क) जसरी परस्पर अन्तक्रिया गर्छन्, त्यसरी नै शरीरभित्र पनि ऊर्जा, पदार्थ, र चेतनाको परिपक्व समन्वय हुन्छ। आत्मसाक्षात्कार भनेको यही ब्रह्माण्डीय समन्वयलाई आत्मभित्र अनुभव गर्नु हो।

    चेतना, ऊर्जा र भौतिकता मानव अस्तित्वका तीन आधारभूत स्तम्भहरू हुन्, जसको समन्वयले व्यक्तिको सम्पूर्ण जीवन, व्यवहार र अनुभूतिको जग बसाल्दछ। भौतिकता (शरीर वा रूप) जीवनको स्थूल रूप हो, जसले दृश्य संसारसँग हाम्रो सम्बन्ध स्थापित गर्छ। ऊर्जा (शक्ति) जीवनको प्रेरक तत्व हो, जसले हरेक क्रियालाई गति र बल प्रदान गर्छ र चेतना आत्माको अभिव्यक्ति हो, जसले अस्तित्वलाई अनुभूति, निर्णय र बोध गराउने काम गर्छ। यी तीन तत्वहरू परस्पर निर्भर र पूरक छन् एकको अभावमा बाँकी दुई अधूरा रहन्छन्।

    वेदान्त र योगदर्शनमा यी तत्वहरूको समन्वय आत्म–साक्षात्कारको मार्ग हो। आधुनिक विज्ञानले पनि यो कुरालाई पुष्टि गर्छ कि चेतन, ऊर्जाशील र भौतिक तत्वहरूको जटिल सन्तुलनले मात्र जीवन सम्भव हुन्छ। “अहं ब्रह्मास्मि” को अनुभूति तब मात्र सम्भव हुन्छ, जब व्यक्ति आफ्नो भौतिक अस्तित्व, आन्तरिक ऊर्जा र सूक्ष्म चेतनाको पूर्ण समन्वयमार्फत ब्रह्मसँग एकाकार हुन्छ। यसैले, चेतना, ऊर्जा र भौतिकताको समन्वित दर्शनले आत्म–पहिचानको मार्ग मात्र देखाउदैन समग्र जीवनलाई सन्तुलित, सशक्त र दिव्य बनाउने आधार निर्माण गर्छ।