३२ पुल पूर्ण रूपमा बगे, ४० किलोमिटर सडक क्षतिग्रस्त : पुनर्निर्माणमा वर्षौँ लाग्ने - Chaitanya News
  • 2026-09-01
  • 16:11:01
  • मंगलबार,भाद्र १६, २०८३
  • ३२ पुल पूर्ण रूपमा बगे, ४० किलोमिटर सडक क्षतिग्रस्त : पुनर्निर्माणमा वर्षौँ लाग्ने

    ३२ पुल पूर्ण रूपमा बगे, ४० किलोमिटर सडक क्षतिग्रस्त : पुनर्निर्माणमा वर्षौँ लाग्ने

    काठमाडौँ– भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखासहितका जिल्लाको सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले सडक र पुल संरचनामा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति गरेको सडक विभागको अनुमान छ।

    सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडकतर्फ करिब १० अर्ब र पुलतर्फ करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ। क्षतिको परिमाण ठूलो रहेकाले तत्कालका लागि अस्थायी रूपमा यातायात सञ्चालन गर्ने प्रयास भइरहे पनि स्थायी पुनर्निर्माणमा भने वर्षौँ लाग्ने देखिएको छ।

    विभागको स्थलगत प्राविधिक विवरणअनुसार बाढीले ४० किलोमिटरभन्दा बढी सडकमा क्षति पुर्‍याएको छ। भोटेकोशी र त्रिशूली नदीमा रहेका ४१ प्रमुख पुलमध्ये ३२ वटा पूर्ण रूपमा बगेका छन् भने तीन वटा पुलमा क्षति पुगेको छ। बाँकी ६ वटा पुल मात्रै सुरक्षित रहेका छन्।

    बाढीले नेपाल–चीन सीमा जोड्ने रणनीतिक महत्त्वको रसुवागढीस्थित मितेरी पुलदेखि टिमुरेका दुई बेलिब्रिज, चिलिमे र स्याफ्रुबेँसीका पुल तथा मैलुङ र हाकु क्षेत्रका जलविद्युत् आयोजनाका पुलसमेत बगाएको छ।

    त्यसैगरी नुवाकोट–रसुवा सीमाको बेत्रावतीका पुराना तथा नयाँ दुवै पक्की पुल, तुप्चे, त्रिशूली बजारका पुराना तथा नयाँ पुल, देवीघाट, श्रीखली, बुद्धसिंहघाट र रातमाटेलगायतका पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ। धादिङतर्फ झरेबगैँचा, घाटबेँसी र फुर्केखोलाका पुल बगेका छन् भने कोल्पुखोलाका दुई पुल र मास्टर धादिङको पुलमा आंशिक क्षति पुगेको छ।

    बाढीका कारण दर्जनौँ पुल र सडक संरचना ध्वस्त भएपछि रसुवासहितका प्रभावित क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने मितेरी पुलसमेत बगेपछि नेपाल–चीनबीचको व्यापारिक आवागमनमा समेत प्रत्यक्ष असर परेको छ। सडक सम्पर्क टुट्दा प्रभावित बस्तीमा खाद्यान्न, औषधि र दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको छ।

    बेत्रावती जोड्ने प्रयास तीव्र

    विपद्पछि सडक विभागले क्षतिको विस्तृत मूल्यांकनसँगै तत्काल अवरुद्ध सडक खुलाउने कामलाई प्राथमिकता दिएको छ। विभागका प्राविधिक टोलीहरू अहिले स्थलगत रूपमा खटिएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।

    प्रवक्ता न्यौपानेका अनुसार राजधानी र मुख्य राजमार्गमार्फत रसुवासँग पुनः सडक सम्पर्क स्थापित गर्न बेत्रावती खण्डलाई पहिलो प्राथमिकतामा राखिएको छ। ‘हाम्रो पहिलो प्राथमिकता बेत्रावती जोडेर रसुवाको सम्पर्क पुनः स्थापित गर्नु हो, जसका लागि भोलिसम्ममा बेत्रावती सडक खुलाउने गरी काम गरिरहेका छौँ,’ उनले भने।

    अहिले तिरतिरे भीर क्षेत्रमा पहिरो तथा सडक कटानका कारण अवरुद्ध सडकमा ट्र्याक खोल्ने र मर्मतको काम भइरहेको छ। धेरै स्थानमा सडक नै कटान भएकाले अस्थायी मार्ग निर्माणमा प्राविधिक चुनौती देखिएको विभागले जनाएको छ।

    तत्काल यातायात सञ्चालनका लागि डाइभर्सन, ह्युमपाइप र बेलिब्रिज प्रयोग गर्ने तयारी भइरहेको छ। तर पूर्ण रूपमा बगेका ३२ पुल र क्षतिग्रस्त मुख्य सडकको स्थायी पुनर्निर्माण भने तत्काल सम्भव देखिँदैन।

    सडक विभागका अनुसार स्थायी पुनर्निर्माणका लागि विस्तृत प्राविधिक अध्ययन, दीर्घकालीन गुरुयोजना र ठूलो बजेट आवश्यक पर्नेछ। बाढीले पुर्‍याएको क्षति साविकको संरचनाभन्दा ठूलो भएकाले पुनर्निर्माणको लागतसमेत बढ्ने र सम्पूर्ण संरचना पूर्ववत् अवस्थामा ल्याउन केही वर्ष लाग्ने विभागको आकलन छ।