बजेट पुनर्लेखनमा जुट्यो सुदूरपश्चिम सरकार, भदौमै प्रदेशसभामा पेस गर्ने तयारी - Chaitanya News
  • 2026-08-31
  • 13:15:27
  • सोमबार,भाद्र १५, २०८३
  • बजेट पुनर्लेखनमा जुट्यो सुदूरपश्चिम सरकार, भदौमै प्रदेशसभामा पेस गर्ने तयारी

    बजेट पुनर्लेखनमा जुट्यो सुदूरपश्चिम सरकार, भदौमै प्रदेशसभामा पेस गर्ने तयारी

    धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गरी भदौ महिनाभित्रै प्रदेशसभामा पेस गर्ने तयारी थालेको छ।

    यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि नयाँ सरकारले बजेट पुनर्लेखन गरेर अघि बढाउने तयारी गरेको हो। बजेट पारित हुन नसक्दा तत्कालीन सरकारसमेत संकटमा परेको थियो। राजनीतिक समीकरण परिवर्तन भएपछि शाह नेतृत्वको सरकार ढलेर नयाँ सरकार गठन भएको थियो।

    नयाँ सरकार गठनसँगै मन्त्रालयहरूले विगतमा प्रस्ताव गरिएका योजना तथा कार्यक्रमको पुनरावलोकन गरिरहेका छन्। सरकारले प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेटको आकार तथा कार्यक्रमलाई पुनः व्यवस्थित गर्ने तयारी गरेको जनाएको छ।

    प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भदौभित्रै प्रदेशसभामा बजेट पेस गर्ने गरी काम अघि बढिरहेको बताए।

    उनका अनुसार विगतको बजेटमा देखिएका बेथिति र कमजोरीलाई सच्याएर नयाँ बजेटलाई जनमुखी बनाइनेछ। ‘हिजो बजेटमा बेथिति देखियो। त्यही भएर अहिलेको बजेटमा जनताको अनुभूति हुने गरी बजेट आउँछ,’ उनले भने।

    सरकारले नयाँ बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। जनताले प्रत्यक्ष लाभ तथा अनुभूति गर्न सक्ने कार्यक्रमलाई बजेटमा समेटिने मन्त्री रावलले बताए।

    मन्त्रालयहरूले योजना तथा कार्यक्रमको पुनरावलोकन गरिरहेकाले त्यसपछि सरकारले बजेटका प्राथमिकता अन्तिम रूप दिने जनाएको छ। नयाँ बजेटमार्फत विगतका कमजोरी सुधार गर्दै प्रदेशको आवश्यकता र जनताको अपेक्षाअनुसार कार्यक्रम अघि बढाउने सरकारको दाबी छ।