काठमाडौँ– भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा राहत स्वरूप उक्त खाद्य सामग्री प्रभावित जिल्लातर्फ पठाइएको हो। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत मात्रै २९ टन खाद्य सामग्री उपलब्ध गराइएको जनाइएको छ।
प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता पुर्याउने उद्देश्यले सामग्री सवारीसाधनमार्फत रसुवा र नुवाकोट पठाइएको हो। बाढीका कारण दैनिक जीवन प्रभावित भएका नागरिकका लागि आवश्यक खाद्यान्नको पहुँच सुनिश्चित गर्न राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्याउने व्यवस्था गरिएको जनाइएको छ।
मन्त्री चौधरीले विपद्बाट प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुभएको छ। सोहीअनुसार बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने गरी खाद्य सहायता परिचालन गरिएको हो।