काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। विभिन्न निकायबाट प्राप्त विवरण एकीकृत गर्ने काम भइरहेकाले हाल सार्वजनिक गरिएको बेपत्ताको संख्या फेरबदल हुन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट संकलित विवरणमा ४ हजार २०२ जना बेपत्ता देखिएका छन्। तर उक्त संख्या अन्तिम नभएको उनले स्पष्ट पारेकी छन्।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाबाट प्राप्त विवरणलाई एकीकृत गर्ने काम भइरहेको महतले बताइन्। खोज तथा उद्धार अभियान जारी रहेकाले सम्पर्कविहीनको संख्या घट्न वा बढ्न सक्ने उनको भनाइ छ।
बाढीले क्षति पुर्याएका जलविद्युत् आयोजना तथा सुरुङ क्षेत्रमा समेत खोजीलाई तीव्रता दिइएको छ। प्राधिकरणका अनुसार हाइड्रो आयोजनाका सुरुङबाट मात्रै हालसम्म २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी २२ जनालाई थप उद्धार गरिएको थियो। सोमबार पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ।
लाङटाङ हाइड्रोमा भएको क्षतिको यकिन विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। प्रभावित क्षेत्रमा मानिसको खोजी जारी रहेकाले बेपत्ताको वास्तविक संख्या तत्काल निर्धारण गर्न कठिन भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार रसुवा बाढीमा हालसम्म ९०३ जनाको मृत्यु पुष्टि भएको छ भने १० हजारभन्दा बढीको उद्धार भइसकेको छ। घाइतेमध्ये २६७ जना उपचारपछि घर फर्किएका छन्। खोज, उद्धार तथा प्रतिकार्यका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबीच, बाढीका कारण अवरुद्ध भएका सडक तथा सञ्चार सेवामध्ये अधिकांश सञ्चालनमा आएका छन्। सडक अवरोध भएका स्थानमा वैकल्पिक मार्ग पहिचान गरी आवागमन सहज बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीसहित करिब १४ वटा कार्यदल परिचालन गरिएको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै संयन्त्रमार्फत काम भइरहेको प्रवक्ता महतले जानकारी दिइन्।