काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन्।
आर्थिक सर्वेक्षण २०८२– ८३ सांसदमा सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन्। यसबीचमा विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने जानकारी गराए।
अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय समेत उनले उल्लेख गरे। यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताए। यस सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीले बताए।
विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको उनले बताए। वाग्लेका अनुसार नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ । नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने उनले बताए।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान गर्ने जानकारी अर्थमन्त्रीले गराए। यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने देखिएको छ।
फागुनसम्म ४ हजार १०५ मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको बताउँदै उनले ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरे।