काठमाडौँ– राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टीका सांसद अरविन्द साहले किसान लक्षित सामाजिक सुरक्षा योजनाको रूपमा किसान पेन्सन कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेका छन्। आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
यस्तै उनले सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको अवस्थामा कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउन रासायनिक मलको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै सिँचाइ सेवा नपुगेका क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारका लागि आगामी बजेटमा स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
सांसद साहले कृषि क्षेत्रमा विद्युतीकरणको कार्य अझै पूर्ण हुन नसकेको उल्लेख गर्दै यसले उत्पादन लागत र उत्पादन क्षमतामा प्रभाव पारिरहेको बताए।
उनले कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउन, मल तथा अन्य कृषि सामग्रीको आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै किसानको आर्थिक सुरक्षाका लागि दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे। यसै क्रममा उनले किसान पेन्सन योजना तत्काल लागू गर्न सरकारलाई आग्रह गरे।