मानव अधिकार आयोगको जेन जेड आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग गगन थापाको माग - Chaitanya News
  • 2026-05-22
  • 17:11:48
  • शुक्रबार,जेठ ०८, २०८३
  • मानव अधिकार आयोगको जेन जेड आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग गगन थापाको माग

    मानव अधिकार आयोगको जेन जेड आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग गगन थापाको माग

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनसम्बन्धी तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

    आज (शुक्रबार) सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्नु सरकारको गैरपारदर्शी अभ्यास हुने टिप्पणी गरे। उनले मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन कहाँ छ भन्ने प्रश्न गर्दै त्यसलाई सार्वजनिक गर्न सरकार बाध्य रहेको धारणा राखे।

    थापाले २४ भदौका घटनामा संलग्न दोषीहरूलाई कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा जोड दिँदै योजनाबद्ध रूपमा भएका गतिविधिहरूको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनका अनुसार दोषी पहिचान भइसकेका वा संलग्न भएका सबैलाई कानुनको दायरामा ल्याइनुपर्छ।

    उनले सरकारको कार्यसम्पादनबारे पनि टिप्पणी गर्दै पहिलो सय दिनभित्र गर्नुपर्ने कामहरूको स्पष्ट सूची पालना हुनुपर्ने आवश्यकता औँल्याए। मन पर्ने काम मात्र अघि बढाउने र नपर्ने विषयलाई ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।

    राजनीतिक स्थायित्व र संवैधानिक अभ्यासका सन्दर्भमा बोल्दै थापाले संख्यात्मक बहुमतको आधारमा संविधान विपरीत कदम चालिएमा नेपाली काँग्रेस प्रतिवादमा उभिने स्पष्ट संकेत दिए। उनले वर्तमान राजनीतिक परिस्थितिमा बहुमत प्राप्त दलले संविधानको सीमा नाघ्ने प्रयास गरे त्यसको विपक्षमा उभिने बताए।