सबै नागरिकको समान विकास सुनिश्चित हुने गरी बजेट ल्याउन रास्वपा सांसदको आग्रह - Chaitanya News
  • 2026-05-19
  • 16:29:10
  • मंगलबार,जेठ ०५, २०८३
  • सबै नागरिकको समान विकास सुनिश्चित हुने गरी बजेट ल्याउन रास्वपा सांसदको आग्रह

    सबै नागरिकको समान विकास सुनिश्चित हुने गरी बजेट ल्याउन रास्वपा सांसदको आग्रह

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले आगामी बजेटमार्फत सरकारले सबै नागरिकको समान विकासको अधिकार सुनिश्चित हुने गरी नीति ल्याउनुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वाधार विकासमा वैज्ञानिक आधार, न्यायोचित वितरण र पारदर्शी विनियोजन प्रणाली अवलम्बन गर्न सरकारलाई आग्रह गरे।

    सांसद आचार्यले टरीगाउँ विमानस्थल देशको दोस्रो पुरानो विमानस्थल भएको उल्लेख गर्दै २०११ सालमा स्थापना भए पनि यसको स्तरवृद्धि र आधुनिकीकरण अपेक्षित रूपमा अघि नबढेको बताए।

    उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको केही वर्षपछि सेवा प्रारम्भ गरेको उक्त विमानस्थल दाङसहित प्युठान, सल्यान, रोल्पा र रुकुम क्षेत्रका नागरिकको आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। ती क्षेत्रमा जनसंख्या वृद्धि र सहरीकरण तीव्र भए पनि विमानस्थलको अवस्था भने सुधार नदेखिएको उनको भनाइ थियो।

    सांसद आचार्यले करिब १८ लाख नागरिकको आर्थिक समृद्धिसँग सम्बन्धित पूर्वाधारप्रति राज्यको पर्याप्त ध्यान नपुगेको आरोप लगाए।

    उनले दाङ र आसपासका जिल्लाका नागरिकलाई आर्थिक अवसर विस्तार गर्ने सरकारको स्पष्ट योजना नभए त्यसको कारण सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए।

    साथै, देशभरका नागरिकले आ(आफ्नो क्षेत्रका पूर्वाधार विकास किन पछि परिरहेको छ भन्ने विषयमा वैज्ञानिक, न्यायिक र पारदर्शी जवाफ खोज्ने अधिकार रहेको पनि उनले बताएका छन्।