रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै - Chaitanya News
  • 2026-05-17
  • 09:41:41
  • आइतबार,जेठ ०३, २०८३
  • रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै

    रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) देशभर वडा अधिवेशन गर्ने भएको छ। गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो।

    करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन्। तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुने संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिए।

    दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ ३ अघि तदर्थ समिति बन्ने वडाहरूको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरण गर्ने मिति तोकिएको छ। जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ।

    कुनै पालिकाको वडाहरू मध्ये ३० प्रतिशत र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रहेको छ।

    रास्वापाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका बनाइएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ। पार्टी गठन भएको ठीक चार वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको रास्वपाले जनाएको छ।