सुदूरपश्चिमको राजधानी विवाद समाधानका लागि मुख्यमन्त्री शाहको राजनीतिक दौडधुप - Chaitanya News
  • 2026-05-15
  • 17:52:32
  • शुक्रबार,जेठ ०१, २०८३
  • सुदूरपश्चिमको राजधानी विवाद समाधानका लागि मुख्यमन्त्री शाहको राजनीतिक दौडधुप

    सुदूरपश्चिमको राजधानी विवाद समाधानका लागि मुख्यमन्त्री शाहको राजनीतिक दौडधुप

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशको राजधानी सम्बन्धी लामो समयदेखिको अन्योल अन्त्य गर्न प्रदेशका मुख्यमन्त्री कमल शाह अहिले काठमाडौँमा राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।

    मुख्यमन्त्री शाहले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए भने शुक्रबार नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल गरेका छन्।

    मुख्यमन्त्री शाहका अनुसार सुदूरपश्चिम प्रदेशको राजधानीबारे लामो समयदेखि निष्कर्ष ननिस्किएकाले शीर्ष नेताहरूसँग परामर्श गर्न आफू काठमाडौँ आएको बताएका छन्।

    प्रदेशसभाले यसअघि कैलालीको गोदावरीलाई प्रदेश राजधानी तोकेको भए पनि रुख कटानलगायतका कानुनी तथा प्राविधिक समस्याका कारण राजधानी कार्यान्वयन हुन सकेको छैन। त्यसपछि कांग्रेस, एमाले र माओवादीबीच धनगढीलाई राजधानी बनाउने समझदारी बनेको थियो। तर अन्तिम चरणमा पुगेको निर्णय रोकिएपछि फेरि नयाँ पहल सुरु गरिएको मुख्यमन्त्री शाहको भनाइ छ।

    राजधानी विवाद समाधानसँगै समसामयिक राजनीतिक विषयमा पनि शीर्ष नेताहरूसँग छलफल भएको उनले बताएका छन्। उनका अनुसार कांग्रेस, एमाले र नेकपाबीच प्रदेश सरकारहरूमा सहकार्य गरेर अघि बढ्नेबारे पनि संवाद भइरहेको छ।

    यद्यपि सहकार्यको मोडालिटीबारे अझै अन्तिम सहमति भइनसकेको नेताहरूले बताएका मुख्यमन्त्री शाहले जानकारी दिए।