काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन्।
‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ,’ सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने, ‘आज छलफल अघि बढाउँ। जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न, आउन सक्नुहुन्छ कि सक्नुहुन्न उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ।’
उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्ने बताए। तर कांग्रेस सांसदले अवरोध जारी राखे।