काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको दिनको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले अगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपा घोषणा गरेका थिए।
स्थापना कालमा रविले आफ्नै नेतृत्वमा २१ जना केन्द्रीय समिति घोषणा गरेका थिए। पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३० हजार लोकप्रिय मत सहित २१ सिट जितेको थियो।
पार्टी स्थापना भएको चार वर्ष पुरा नहुँदै गत फागुनमा २१ मा भएको निर्वाचनमा ५१ लाखभन्दा बढी लोकप्रिय मत सहित दुई तिहाइ नजिक अर्थात् १८२ सिट जितेको थियो।