काठमाडौँ– आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कमा गिरावट आएको छ। नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा पुगेर बन्द भएको छ।
बजारमा आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए। जसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा अधिकांश उप–सूचकहरू राताम्मे देखिएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घट्दा जलविद्युत १.०५ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत र बैंकिङ ०.७७ प्रतिशतले ओरालो लागेको छ।
यद्यपि, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेका छन्। आजको बजारमा पाल्पा सिमेन्ट र शिखर पावर लिमिटेडको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.२४ प्रतिशतले बढेको छ। यता, सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै सोलु हाइड्रोपावरको २६ करोड ७ लाख र आँखुखोला जलविद्युतको २६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।