दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने - Chaitanya News
  • 2026-04-20
  • 14:25:11
  • सोमबार,बैशाख ०७, २०८३
  • दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

    दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौँ– सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो। आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको संगमबाट ७३० मिटर माथि रहनेछ।

    आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ। निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन्।

    विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ।

    आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको भए पनि पछिल्लोपटक अर्धजलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न लागिएको छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

    आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२।३ मिटर रहेको छ। आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट दुई हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ।

    आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टशेन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ। आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँबराबर रहनेछ।

    प्रवर्द्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँबराबर रहेको छ। आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।