सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग यातायात व्यवसायीले गरे माग - Chaitanya News
  • 2026-04-18
  • 19:24:08
  • शनिबार,बैशाख ०५, २०८३
  • सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग यातायात व्यवसायीले गरे माग

    सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग यातायात व्यवसायीले गरे माग

    काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ।

    निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार बनाउँदै महासंघले भाडा दर पुनः समायोजन गर्न माग गरेको हो।

    महासंघले जारी गरेको विज्ञप्तिमा पछिल्लो भाडा समायोजनपछि पनि इन्धन मूल्य दुई पटकसम्म वृद्धि भइसकेको उल्लेख गर्दै विद्यमान दरले सञ्चालन खर्च धान्न कठिन भएको जनाएको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार इन्धनको निरन्तर मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर आर्थिक दबाबमा परेको छ।

    विज्ञप्तिमा मध्यपूर्वमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा परेको असर र त्यसका कारण नेपाल आयल निगमले पटक–पटक पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको उल्लेख छ। यसले यात्रुवाहक तथा मालवाहक दुवै प्रकारका सवारी सञ्चालनमा चुनौती थपिएको महासंघको भनाइ छ।

    महासंघले पछिल्ला दिनहरूमा भएको मूल्य वृद्धिलाई आधार मान्दै प्रचलित स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार भाडा दर समायोजन गर्न वा बढाइएको मूल्य फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। साथै पेट्रोलियम पदार्थमा पाँच प्रतिशतसम्मको मूल्य परिवर्तन हुँदा भाडा स्वतः समायोजन हुने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग पनि गरिएको छ।

    संगठनले देशभर सेवा सञ्चालन गर्ने आफ्ना सदस्यहरूलाई इन्धनको खपत घटाउन तथा सञ्चालन खर्च नियन्त्रणमा ध्यान दिन पनि आग्रह गरेको छ। साथै निरन्तर मूल्यवृद्धिको सट्टा दीर्घकालीन विकल्प खोज्न सरकारलाई सुझाव दिइएको छ।