इन्धन बचत नगरे आपूर्ति शृङ्खला ठप्प हुन सक्छ : नेपाल आयल निगम - Chaitanya News
  • 2026-04-12
  • 01:48:44
  • शनिबार,चैत्र २८, २०८२
  • इन्धन बचत नगरे आपूर्ति शृङ्खला ठप्प हुन सक्छ : नेपाल आयल निगम

    इन्धन बचत नगरे आपूर्ति शृङ्खला ठप्प हुन सक्छ : नेपाल आयल निगम

    काठमाडौँ– पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अचाक्ली वृद्धिका कारण नेपाल आयल निगम चरम वित्तीय संकटमा फसेको छ।

    नेपाल आयल निगमले एक सूचना जारी गर्दै हालको अवस्थामा पेट्रोलियम पदार्थको खपत नघटाए र मूल्य समायोजन नगरे इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसकिने र मुलुकमा इन्धनको हाहाकार हुन सक्ने चेतावनी दिएको हो।

    निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको मूल्य वृद्धिलाई हेर्दा निगमलाई पाक्षिक रूपमा करिब १४ अर्ब अर्थात् दैनिक ९३ करोड रुपैयाँ घाटा हुने देखिएको छ। सरकारले चैत २४ गते भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेकाले उक्त सहुलियतको प्रभाव न्यून देखिएको हो।

    यही बाध्यात्मक परिस्थितिका कारण निगमले चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७, डिजेल र मट्टितेलमा २५, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० र हवाई इन्धनमा ६ रुपैयाँ मूल्य वृद्धि गरेको छ। यति धेरै मूल्य बढाउँदा पनि निगमलाई अझै पाक्षिक करिब ८ अर्ब घाटा रहने प्रक्षेपण गरिएको छ। निगमले ८ अप्रिलमा आईओसीलाई २६ अर्ब ८६ करोड भुक्तानी गरिसकेको छ भने आगामी २३ अप्रिलको किस्ताका लागि १६ अर्ब ३७ करोड रुपैयाँ व्यवस्थापन गर्नुपर्ने चुनौती छ।

    छिमेकी मुलुकहरू श्रीलंका, पाकिस्तान र बंगलादेशले इन्धन संकट टार्न कोटा प्रणाली, जोर–बिजोर प्रणाली र स्कुल–कलेजमा अनलाइन कक्षा जस्ता कठोर कदम चालेको स्मरण गराउँदै निगमले नेपाली उपभोक्तालाई पनि मितव्ययिता अपनाउन आग्रह गरेको छ। ‘नेपाल इन्धनमा पूर्णतः परनिर्भर रहेकाले अहिलेको अवस्थामा खपत घटाउनु नै एकमात्र विकल्प हो,’ अपिलमा भनिएको छ।

    निगमले तथ्याङ्क प्रस्तुत गर्दै यदि एक बाइक चालकले प्रतिदिन १ लिटर र एक गाडी चालकले १ लिटर मात्र पेट्रोलरडिजेल बचत गर्न सकेमा राज्यको दैनिक २६ करोड रुपैयाँ जोगिने बताएको छ। यसरी १५ दिनमा ३९० करोड रुपैयाँ बचत हुन सक्ने भन्दै निगमले सवारी साधनको अनावश्यक प्रयोग नगर्न र इन्धनको प्रयोगमा अत्यन्तै संयमता अपनाउन सम्पूर्ण सरोकारवाला र उपभोक्तासँग हार्दिक अपिल गरेको छ।