अबदेखि एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने, एक साताभित्रै सुरु गर्ने तयारी - Chaitanya News
  • 2026-04-12
  • 01:52:31
  • शनिबार,चैत्र २८, २०८२
  • अबदेखि एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने, एक साताभित्रै सुरु गर्ने तयारी

    अबदेखि एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने, एक साताभित्रै सुरु गर्ने तयारी

    काठमाडौँ– अबदेखि एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने भएको छ।

    सूचना प्रविधि विभागले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस)नागरिक एपबाटै प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागेको हो। अबको एक सातामै यो सेवा सुरु हुने विभागले जनाएको छ।

    सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले यी नयाँ सुविधाहरू हाल प्राविधिक परीक्षणको चरणमा रहेको जानकारी दिए। यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएसँगै सरकारी कामका लागि लाइन बस्नुपर्ने र कागजी प्रक्रिया झेल्नुपर्ने झन्झटमा उल्लेख्य कमी आउने विभागले जनाएको छ।

    गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ लाई कार्यान्वयन गर्न सञ्चार मन्त्रालय निर्देशन दिएको थियो। सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाले समय सीमा तोकेरै काम सक्न निर्देशन दिएपछि विभागले अन्य सरकारी निकायहरूसँगको समन्वयलाई तीव्र पारेको जनाइएको छ।

    यसै सिलसिलामा नेपाल इन्जिनियरिङ परिषद्सँग पनि सम्झौता भइसकेको र छिट्टै व्यावसायिक इन्जिनियरहरूको प्रमाणपत्र समेत एपमै उपलब्ध हुने विभागले जनाएको छ। नागरिक एपलाई सरकारले सबै सरकारी सेवा पाइने एउटै थलो बनाउने लक्ष्य राखेको छ। यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) अनलाइनबाटै दिने व्यवस्था सफल भइसकेको छ।

    इन्जिनियरहरूले आफ्नो व्यावसायिक प्रमाणपत्र डिजिटल रूपमै प्राप्त गर्ने व्यवस्थाका लागि तयारी गरिएको विभागले जनाएको छ।