काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। बढेको मूल्यसूची आज (शुक्रबार) देखि नै लागू भएको छ। पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको हो।
निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५–२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका ९तेस्रो वर्ग०मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनु परेको विज्ञप्तिमा उल्लेख छ।
मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण सिर्जित विषम परिस्थितिलाई मनन गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग अनुरोध समेत गरेको छ।
![]()
![]()