नेपालगञ्जमा दादुराको संक्रमण फैलियो, एक बालकको मृत्यु - Chaitanya News
  • 2026-05-02
  • 12:31:36
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालगञ्जमा दादुराको संक्रमण फैलियो, एक बालकको मृत्यु

    नेपालगञ्जमा दादुराको संक्रमण फैलियो, एक बालकको मृत्यु

    काठमाडौं– बाँकेको नेपालगञ्ज क्षेत्रमा दादुराको संक्रमण फैलिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका ६ वटा वडामा दादुराको प्रकोप फैलिएको हो। बिहीबार दिउँसोसम्म २९ जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

    दादुराबाट संक्रमित एक बालकको बुधबार मृत्यु भएपछि प्रकोप नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले सक्रियता बढाएका छन्। दादुरा नियन्त्रणका लागि उपमहानगर, जिल्ला जनस्वास्थ्य र भेरी अस्पतालका टोली परिचालन गरिएको छ। दादुरा संक्रमित बालबालिकाको घरमै उपचार भइरहेको छ। उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

    नगरका वडा नम्बर ५, ७, ९, १०, १५ र २२ का वस्तीमा दादुरा फैलिएको हो। दादुरा नियन्त्रणका लागि स्थानीय सरकारको व्यवस्थापनमा जिल्ला जनस्वास्थ्य, भेरी अस्पताल, विश्व स्वास्थ्य संगठन, युनिसेफका टोलीहरूले काम गरिरहेको जिल्ला स्वास्थ्य सुपरभाइजर नरेश श्रेष्ठले बताए। ‘तत्कालै दादुरा खोप अभियान चलाउने तयारी भइरहेको छ। १५ वर्षमुनिका खोप लिन छुटेका बालबालिकालाई भोलिदेखि नै खोप दिइने छ,’ उनले भने।

    पहिलोपटक गत शनिबार नेपालगञ्ज–५ स्थित एउटै परिवारका चार बालबालिकामा दादुरा फेला परेको थियो। पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनामा दादुरा पुष्टि भएको थियो। दादुराका बिरामीलाई समयमै उपचार नहुँदा प्रकोप फैलिएको हो। मृत्यु हुने बालक पनि स्वास्थ्यकर्मीको सम्पर्कमा आएका थिएनन्। अहिले विभिन्न टोली बनाएर दादुराका थप बिरामीको खोजी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख सुनिता पौडेलले बताइन्।

    खोप लिन छुटेका बालबालिकाका लागि ४५ हजार डोज खोप आइसकेको र छिट्टै अभियानकै रूपमा लगाउने तयारी गरिएको उनले जनाइन्। नेपालमा दादुरा प्रतिदश हजारमा १ भन्दा कम हुनेगरी सन् २०२३ सम्म निवारण गर्ने लक्ष्य लिइएको छ। दादुरा छिटो सर्न सक्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राखेर उपचार भइरहेको स्वास्थ्यकर्मीले जनाएका छन्।