ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ - Chaitanya News
  • 2026-04-30
  • 22:04:09
  • बिहिबार,बैशाख १७, २०८३
  • ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५

    ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५

    काठमाडौं– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ। दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे–गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो।

    राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो। दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो।

    मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ।

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। बैंक अफ काठमाण्डूको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन्।

    मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड पुग्नेछ। बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप रु तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ। मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन्।

    मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नुहुने छ। साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डूका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नुहुने छ। बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूकातर्फबाट दुई जना रहने सहमति भएको थियो।

    तीन दिन सेवा बन्द
    पुस २५ गते एकीकृत कारोबार अगाडि तीन दिन बैंक अफ काठमाण्डू लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै डाटा माइग्रेशन प्रयोजनका लागि बैंकले पुस २२ देखि २४ गतेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएको हो।