आज सेयर बजार ७४ अंकले घट्यो, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-04-21
  • 04:07:10
  • सोमबार,बैशाख ०७, २०८३
  • आज सेयर बजार ७४ अंकले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सेयर बजार ७४ अंकले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– साताको चौथो कारोबार दिन आज (बुधवार) सेयर बजार ७४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा ओर्लिएको छ।

    बजारमा ठुलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज दिनभर कूल ३४७ कम्पनीका ३ करोड २ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    आजको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुल कारोबार भएका कम्पनीमध्ये मात्र १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।

    बजारमा तीव्र गिरावट आए पनि केही कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ।

    कारोबार रकमका आधारमा आज हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, अपि पावर, ङादी ग्रुप पावर र शिवम सिमेन्टको पनि उल्लेख्य कारोबार भएको छ।

    सरकारले ल्याएको १०० बुँदे कार्यसूचीमा पुँजी बजार सुधारको विषय नपरेको बरु सरकारले सम्पत्ति शुद्धीकरण कारबाही अगाडि बढाएपछि यसले पुँजी बजारमा नकारात्मक असर परेको देखिएको छ।

    गत साता मात्रै सेयर बजार परिसूचक २९६० अंकसम्म पुगेको थियो । पछिल्लो ६ दिनको कारोबारमा बजारले करिब १८४ अंक गुमाइसकेको छ।

    बजार उच्च हुँदा २३ अर्बसम्मको कारोबार भएको बजारमा अहिले कारोबार रकम घटेर १२ अर्बको हाराहारीमा झरेको छ।