काठमाडौं– केहीबेरमा शपथ हुने तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्बाट गर्ने निर्णयहरुको तयारी थालेका छन्। नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिन लागेका बालेन शाहले पहिलो मन्त्रिपरिषद् बैठकलाई प्रभावकारी बनाउने तयारी तीव्र पारेका छन्। सरकार गठनसँगै तत्काल जनताले महसुस गर्ने खालका निर्णयहरू ल्याउने रणनीतिमा उनको टोली केन्द्रित देखिन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सबै मन्त्रालयहरूसँग छिटो कार्यान्वयन गर्न सकिने योजनाहरू माग गरिएको थियो। मुख्यसचिव सुमन अर्यालको निर्देशनपछि मन्त्रालयहरूले छोटो र सारगर्भित रूपमा आफ्ना प्रस्तावहरू पठाइसकेका छन्। ती प्रस्तावहरूमा तत्काल परिणाम दिने कार्यक्रम, त्यसको जनतामा पर्ने प्रभाव र सम्भावनाहरू समेटिएका छन्।
अब ती सबै विवरणहरू प्रधानमन्त्रीको सचिवालयमा पुगेका छन्, जहाँ विज्ञ टोली र कर्मचारीहरूले प्राथमिकता निर्धारण गर्ने काम गरिरहेका छन्। अन्ततः छानिएका योजनाहरूलाई पहिलो मन्त्रिपरिषद् बैठकमार्फत निर्णयमा लैजाने तयारी छ।
सरकार स्रोतका अनुसार, प्रशासनलाई चुस्त बनाउन केही मन्त्रालयहरू पुनर्संरचना गर्ने, साथै पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता अत्यावश्यक सेवाहरूलाई सरल र छरितो बनाउने विषय प्राथमिकतामा छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सुधारका प्रस्तावहरू समावेश गरिएको बताइएको छ।
यसका साथै, सुशासनलाई केन्द्रमा राख्दै तयार गरिएको ‘गुड गभर्नेन्स ब्लु प्रिन्ट’ पनि प्रधानमन्त्रीको अध्ययनमा रहेको छ। अघिल्लो समयमा भएका भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति सम्बन्धी विषयहरूमा अनुसन्धान अगाडि बढाउने सम्भावनाबारे समेत छलफल भइरहेको बुझिएको छ।
यद्यपि, पहिलो बैठकबाटै कुन–कुन निर्णयहरू सार्वजनिक हुन्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री र उनको टिमले प्राथमिकता तय गरेपछि मात्रै औपचारिक निर्णयहरू आउने अपेक्षा गरिएको छ।