निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिएको केपी ओलीको टिप्पणी - Chaitanya News
  • 2026-04-22
  • 11:05:07
  • बुधबार,बैशाख ०९, २०८३
  • निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिएको केपी ओलीको टिप्पणी

    निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिएको केपी ओलीको टिप्पणी

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन्।

    आज (बिहीबार) नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले सो टिप्पणी गरेका हुन् ।

    ‘भर्खरै निर्वाचन सकिएको छ। अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ।’

    निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको ओलीले बताए । ‘यसमा एउटा हाम्रा विरोधीहरूले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे,’ ओलीले भने।

    घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको पनि ओलीले दाबी गरे । एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न पनि उनले निर्देशन दिए।

    ‘कौरवको सेना असाधारण थियो, ठूलो थियो। पाण्डवको सेना थोरै थियो। तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ,’ उनले भने, ‘हामी देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि काम गर्दैर्छौँ।’