निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ अध्यायको ढोका खोलेको छ : प्रधानमन्त्री कार्की - Chaitanya News
  • 2026-04-22
  • 23:06:37
  • बुधबार,बैशाख ०९, २०८३
  • निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ अध्यायको ढोका खोलेको छ : प्रधानमन्त्री कार्की

    निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ अध्यायको ढोका खोलेको छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन्।

    आज (बुधबार) निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । यस्तै उनले कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनुलाई ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरिन्।

    गत भदौमा भएको ‘जेनजी विद्रोह’ पछिको जटिल सुरक्षा अवस्था र राजनीतिक संवादहीनताका बिच सरकारले निर्वाचन गराउने मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको प्रधानमन्त्रीको भनाइ छ।

    ‘हामीले जिम्मेवारी लिँदा देशमा एक प्रकारको कानुनी र राजनीतिक शून्यता थियो, तर ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरेर देशलाई पुनः संविधान र लोकतन्त्रको मार्गमा ल्याउन हामी सफल भयौँ’, प्रधानमन्त्रीले बताइन्।

    समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोग गर्ने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आम मतदाताले स्थिर सरकार र सुशासनका लागि स्पष्ट जनादेश दिएकाले अबको बाटो समृद्धिको हुने विश्वास व्यक्त गरिन्।

    कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले प्रदर्शन गरेको व्यावसायिक दक्षताको प्रशंसा गरे। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, विभिन्न संवैधानिक निकायका प्रमुखहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।